शिलन्यासको तीन वर्षमा नौ स्थानीय तहमा मात्र सम्पन्न भयो आधारभूत अस्पताल निर्माण

नेपालगञ्ज डेस्क : सरकारले तीन वर्षअघि शिलन्यास गरेको मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अनुसार हालसम्म नौ वटा स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ ।

मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । ‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने ।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन ।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने । अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।

विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेर एकैदिन शिलन्यास समेत गरिएको थियो । त्यही अनुसार ८० पालिकामा पाँच शैयाको, एक सय ५४ पालिकामा १० शैया तथा चार सय २३ पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच शैयाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० शैयाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ शैयाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको थियो । Ntv Online 




फेसबुकबाट तपाईको प्रतिक्रिया