रुद्र सुवेदी / नेपालगञ्ज : नेपाल सरकारले सन २०१० मै कुष्ठरोग उन्मुलन गरेको भन्दै कुष्ठरोग निबारणका कार्यक्रम ठप्प हुँदा बाँकेमा भने समुदायस्तरमै नयाँ कुष्ठरोगीको संख्या हरेक वर्ष बढेकोे पाईएको छ ।
आईएनएफ नेपालद्वारा सञ्चालनमा रहेको साईनिङ्ग अस्पताल बाँकेको छालारोग उपचार केन्द्रका अनुसार बाँके अत्याधिक कुष्ठरोग प्रभावित जिल्ला मध्ये प्रदेश कै पहिलो स्थानमा रहेको छ ।
समुदायमा कुष्ठरोगलाई हेयको दृष्टीले लुकाउदा अझै खुलेर उपचारमा नआउदा निवारणमा समस्या देखिएको आईएनएफ साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्र बाँकेका ईन्चार्ज मंगलबहादुर थारुले बताए ।
उनले सन २०१० मा नेपालबाट उन्मुलन भईसकेको कुष्ठरोग बाँकेलगायतका विभिन्न जिल्लाहरुमा भने तीब्ररुपले संक्रमण फैलदो अवस्थामा रहेको बताए ।
उनले चालु आर्थिक वर्षको छ महिनामा आईएनएफ साईनिङ्ग अस्पतालमा ५८ जना नयाँ कुष्ठरोगी पत्ता लाग्दा २३ जना बाँकेका रहेको बताए । उनले यसैगरी बर्दियाका १५ भारतीय १० अन्य १० विभिन्न जिल्लाका रहेको जानकारी दिए ।
आईएनएफ साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्र बाँकेका ईन्चार्ज थारुले समुदायमा हेयको रुपमा हेरिने भएकोले उपचारमा खुलेर नआउने र राज्यले उन्मुलन भएको भन्दै लगानी नगर्ने हुँदा निवारणमा कठिन भएको दाबी गरे ।
साईनिङ्ग अस्पतालमा उपचारमा रहनु भएका एक विरामीले आफु जस्ता रोगीको संख्या समुदायमा अधिक रहेको बताए । उनले सामाजिक विभेद हुने डरले खुलेर उपचारमा आउन डराउने धेरै भएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बाँकेमा चालु आर्थिक वर्ष पहिलो ६ महिनामा भेटिएका कुष्ठरोगी ३६ जना रहेको जानकारी दिए ।
बाँकेमा भेटिएका यी मध्ये १० जना कोहलपुर नगरपालिकाका , ८ जना नेपालगञ्ज, ५ जना डुडुवा, ४ जना राप्तीसोनारी र जानकी, बैजनाथ, खजुरा, नरैनापुरमा २–२ जना रहेको जानकारी दिए । उनले बाँकेमा कुष्ठरोगीको संख्या प्रति १० हजारमा २.६१ प्रतिशत रहेको र यो उन्मुलनको लागि १ प्रतिशत भन्दा मुनी हुनुपर्ने बताए ।
साईनिङ्ग अस्पतालको ओपिडिमा दैनिक रुपमा ५०/६० जना विरामी छालाको विभिन्न समस्या लिएर आउने गरेकोमा सरदर २–३ दिनमा एक कुष्ठरोगी पत्ता लाग्ने गरेको अस्पतालले जनाएको छ ।
कुष्ठरोगीले आ–आफ्नो पालिकाका स्वास्थ्य संस्थाहरुबाट औषधि पाउने र जो कुष्ठरोगको कारण अंगभंग हुने विरामीका लागि २४ वेडको अस्पतालमा भर्ना गरेर सबै उपचार निशुल्क गर्दै अएको छ ।
खुला सीमा र समयमा उपचारमा नआउनाको कारण यसको निदानमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बर्षेनी करिव १६ हजारलाई कुष्ठरोग र छालारोग सम्बन्धित सेवा दिदै आएको छ ।
हेल्थइरा । २०८१, १३ माघ आईतवार