देशभर झण्डै तीन हजार जनामा डेंगु सङ्क्रमण पुष्टि

 

नेपालगञ्ज  : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

योसँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई हजार ९ सय ५२ पुगेको छ । डा. दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन ।

डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा ८ सय ७७ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६ सय १२, कोशीमा ५ सय १८, लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३ सय ५०, कर्णालीमा ७७ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा. दाहालले जानकारी दिए ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गु रोगमा असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने प्रमुख लक्षण देखा पर्ने गर्छन । त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया