नेपालगञ्जको भेरी अस्पतालमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला

रुद्र सुवेदी / नेपालगञ्ज  :  भेरी अस्पताल नेपालगञ्जले अर्थोस्कोपी सोसाईटी अफ नेपालसँगको सहकार्यमा देशभरका आर्थोपेडिक/आर्थोस्कोपी सर्जनहरुलाई एकैथलोमा उपस्थित गराई आफ्नो व्यानरमा पहिलो पटक एक दिने आर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ ।

यो कार्यशालाले खासगरी खेलकुदमा लागेका खेलाडिहरु खेल खेल्ने क्रममा भएको ‘फिजिकल ईन्जुरी’को दुरविन पद्धतीबाट गरिने शल्यक्रिया र उपचारको विषयमा देशभरका अर्थोपेडिक तथा अर्थोस्कोपीक सर्जनहरुको अनुभव र सिकाई आदान प्रदान गर्ने अपेक्षा गरिएको भेरी अस्पतालका अर्थोपेडिक सर्जन समेत रहेका अस्पतालका मेसु डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

उनले भने–‘भेरी अस्पतालले अर्थोस्कोपी सोसाईटी अफ नेपालसँगको सहकार्यमा आफ्नै व्यानरमा देशभरका अर्थोपेडिक/अर्थाेस्कोपी सर्जनहरुलाई पहिलो पटक उपस्थित गराई अर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ । यसले धेरै कुरामा सिक्ने सिकाउने अवसर बन्ने छ ।’

मेसु डा थापाले भेरी अस्पतालले विशिष्टिकृत सेवा प्रवाहसँगै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई पनि बढाउँदै लगिएको बताउदै अस्पतालमा उपचारमा आउने बिरामीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास गरे ।

उनले भेरी अस्पतालले पश्चिम नेपालबाट सिमित स्रोत र साधनको प्रयोग गरी गुणस्तरिय सेवा दिनुको साथै शैक्षिक गतिविधि सञ्चालन गर्नमा पनि सक्षम रहेको सन्देश दिदै यस्ता कार्यशालाले उपचारका क्षेत्रमा आएका नवीनतम प्रविधि तथा खोज अनुसन्धानबारे चिकित्सकहरु बीच अनुभव आदान प्रदान हुदै स्तरीय सेवामा सहजता थप्ने दाबी गरे ।

सो कार्यशालाको संयोजनकारी भूमिका निर्वाह गरेका भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काले उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयलाई पनि कार्यशालाले महत्व दिएको बताए ।

कार्यशालामा देशभरका ७० बढी अर्थोपेडिक/आर्थोस्कोपि सर्जनहरु सहभागी रहेको कार्यक्रममा स्वागत गर्दै वेष्टर्न हस्पिटल नेपालगञ्जका बरिष्ठ अर्थोपेडिक सर्जन डा.विनोद थापाले नेपालगञ्जमा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रमले चिकित्सकहरु बीचमा उपचार पद्धति, नयाँ प्रविधिको प्रयोग गरि, समस्या निराकरणमा उपयोगी हुने बताए ।

उनले भने–‘ अहिलेको युग प्रविधिको युग भएको छ । हामीले काम गर्दा यस्ता प्रविधिको उपयोग गर्ने अवसर थिएन र अहिले नायाँ प्रविधिले काम गर्नमा पनि सहज बनाएको छ ।’

कार्यक्रममा बि एण्ड बि अस्पतालका आर्थोस्कोपी सर्जन समेत रहेका एसोनका अध्यक्ष प्रा.डा. अमित जोशी, सचिव डा विवेक वासुका, साइन्टिफिक अध्यक्ष डा निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, एसोनका सदस्य डा.विहानी श्रेष्ठ, एसोन सदस्य समेत रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विश्वनाथ शर्मा, एनेस्थेसिष्ट डा डा पारश पाण्डेलगायत दर्जन बढी चिकित्सकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

के हो आर्थोस्कोपी सर्जरी ?

आर्थोस्कोपी सर्जरी भनेको दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती हो । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार यो प्रविधिबाट गरिन्छ । यो विधिबाट प्रायः घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ । भेरी अस्पतालमा घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग भइरहेको डा. खड्काले जानकारी दिए ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस)हरु च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्धतिलाई आर्थोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आर्थोस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गर्ने गरिएको अर्थोपेडिक सर्जन डा.लक्ष्मण सिक्देलले जानकारी दिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया