लुम्बिनीका ७० हजार बढि बालबालिकालाई खोप

नेपालगञ्ज :  आर्थिक वर्ष २०८१÷८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५ सय १८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै खोप ड्रप आउट हुने जिल्ला मध्य बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट देखिएको छ ।

पूर्ण खोप अभियानअन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया