
गुलरिया (बर्दिया) : वालवालिकाको सर्वाङ्गीण विकास तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिको लागि लाभदायक स्वर्णविन्दु प्राशन कार्यक्रम बर्दियाको गुलरियामा दोश्रो पटक संचालन भएको छ ।
हरेक महिनाको पुष्य नक्षेत्रको दिन (जुन शरिरको लागि पोशक दिन मानिन्छ) स्वर्णविन्दु प्राशन गर्नु पर्ने शास्त्रिय मान्यता रहि आए बमोजिम बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा एकराज भण्डारीले जानकारी दिए ।
उनले आयुर्वेद विज्ञानको बालरोग सम्बन्धी ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पनामा स्वर्ण भष्म (सुन)लाई घिउ (ब्राह्मी घृत)र मह लगायतका औषधि द्रव्यमा मिसायर उमेर अनुसारको निर्देशित मात्रामा थोपाको रूपमा सेवन गराउने विधीलाई स्वर्णविन्दु प्राशन भनिने प्रष्ट पारे ।

यसबाट वालवालिकाहरूको शारिरिक र मानसिक विकासको साथै रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत हरेक महिना पुष्य नक्षेत्रमा संचालन हुने गरी खुवाउने गरिन्छ ।
कार्यक्रममा पुरानो सेवाग्राही संख्या ३ सय ३० ले दोस्रो मात्रा सेवन गरेको नयाँ सेवाग्राही वालक २ सय १० र वालिका १ सय २७ गरि ३ सय ३७ लाई पहिलो डोज स्वर्ण विन्दु सेवन गराईएको जनाईएको छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.भण्डारीले स्वर्ण विन्दु प्रशन कार्यक्रमबाट जम्मा ६ सय ६७ जना बालबालिका लाभग्राही हुन सकेको बताए ।
उनले कार्यालय भवन तथा सिमित जनशक्तिका कारण सेवा प्रवाहमा बिभिन्न खालका समस्या आए पनि कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिएर पठाईएको बताए । सो अवसरमा डा. शिवराज सुवेदीलगायतको आयुर्वेद विज्ञहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।



हेल्थइरा । २०८२, २७ कार्तिक बुधबार