विश्व ध्यान दिवस  : व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य

नेपालगञ्ज  : ‘भित्री शान्ति विश्वभरी सद्वभाव’ नारासहित विश्व ध्यान दिवस मनाइएको छ । योग समिति नेपाल र चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा विश्व ध्यान दिवस विविध कार्यक्रमका साथ मनाइएको हो ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले मानव जीवनमा ध्यानको महत्वबारे विस्तृत प्रवचन दिएका थिए ।

उनले दैनिक जीवनको व्यस्ततालाई केही समय मात्र ध्यानमा समर्पित गर्न सकिएमा मानसिक शान्ति प्राप्त हुनुका साथै शारीरिक रूपमा पनि निरोगी बन्न ठूलो सहयोग पुग्ने बताए ।

योगगुरु भट्टराईले ध्यानको नियमित अभ्यासले तनाव, चिन्ता जस्ता मानसिक समस्यालाई कम गर्नुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्न पनि मद्दत पुग्ने उल्लेख गर्दै सबैलाई दैनिक व्यस्तताबाट केही समय छुट्याएर ध्यान अपनाउन आग्रह गरे ।

उनका अनुसार ध्यान केवल शारीरिक अभ्यास मात्र नभई अनुशासित, सन्तुलित र सकारात्मक जीवनशैलीको मार्गदर्शक भएको बताए । ध्यान नियमित गर्दा जीवनमा सकारात्मक सोच विकास हुन्छ । उनले आधुनिक जीवनशैलीका कारण मानिसहरू शारीरिक भन्दा बढी मानसिक रूपमा अस्वस्थ बन्दै गएको र ध्यानलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल चिकित्सक संघ भेरी शाखाका प्रमुख रूपानन्द अधिकारीले चिकित्सकीय दृष्टिले ध्यानको प्रभावका विषयमा जानकारी दिँदै ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव र भावनात्मक असन्तुलनमा लाभ पु¥याउने बताए । ध्यानलाई जीवनशैलीमा समावेश गर्दा व्यक्ति मात्र नभई परिवार र समाज पनि स्वस्थ रहने बताए ।

दैनिक जीवनयापनको व्यस्तताका कारण आफ्नो शरीर र मनको हेरचाहका लागि समय निकाल्न नसक्ने व्यक्तिहरूका लागि ध्यान अत्यन्तै उपयोगी र लाभदायी हुने सरोकारवालाहरूले बताएका छन् ।

कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षक, आजीवन तथा साधारण सदस्यहरू, नेपालगञ्जका चिकित्सकहरू, लगायत चारसय भन्दा बढी योगी तथा स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ले जानकारी दिईन ।

कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । कार्यक्रममा चार सय बढिको सहभागीहरूले सामूहिक ध्यान अभ्यास गरेका थिए । आयोजकहरूले विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक शान्ति, आत्मचिन्तन र स्वास्थ्यप्रति सचेत बनाउने विश्वास व्यक्त गरेका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले ध्यानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सन्तुलित र शान्त जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् ।

  




फेसबुकबाट तपाईको प्रतिक्रिया