देशैभरका विपन्न र असहाय बिरामीले काठमाडौं महानगरका अस्पतालबाट निःशुल्क उपचार पाउने

काठमांडौ : देशैभरका विपन्न र असहाय बिरामीलाई काठमाडौं महानगरले निःशुल्क उपचार सेवा दिने भएको छ । महानगरमा रहेका ५२ अस्पतालका ३ सय ७४ बेडमा देशैभरका अशक्त र बिपन्न बिरामीले निःशुल्क उपचार पाउने गरी व्यवस्था मिलाईएको हो ।

महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जालमा नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूले काठमाडौ महानगरपालिकाबाट सञ्चालित अस्पतालबाट निशुल्क सेवा पाउने उल्लेख गर्दै विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएर निःशुल्क सेवा लिन आह्वान गरेका छन् । ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


महानगर प्रमुख साहले देशभरका नागरिकलाई आफ्नो टोल छिमेक वा आफन्तहरू विपन्न र असहाय वर्गमा रहेको भए खबर गरिदिन पनि आग्रह गरेका छन् ।

त्यसैगरि काठमाडौं महानगरले सूचना प्रकाशित गर्दै नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनि व्यवस्था गरेको उल्लेख गर्दै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धी व्यवस्था गरेकाले नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई काठमाण्डौ माहानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रदान गरिएको जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया