कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा व्यवस्थापकीय पक्ष फेरिएसँगै विशिष्टिकृत सेवा विस्तार गर्दै उपचार सेवालाई थप स्तरीय बनाउने भएको छ ।
शिक्षण अस्पतालले कोहलपुर र नेपालगञ्जलाई स्वास्थ्य उपचारको लागि गन्तब्यको रुपमा विकास गर्दै लुम्बिनी प्रदेशसंगै कर्णाली र सुदूरपश्चिम प्रदेशको लागि लक्षित गरी सुविधा सम्पन्न अस्पतालका लागि नेपालगञ्ज र कोहलपुरमा विशिष्टिकृत सेवाहरु थपिन लागिएको शिक्षण अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सचिव श्याम शर्माले जानकारी दिए ।
उनले कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनका अवसरमा बोल्दै लुम्विनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि विशिष्टिकृत सेवा थप्नुको विकल्प नभएको बताए । उनले गुणस्तरिय सेवा प्रवाह कोहलपुर र नेपालगञ्जमै उपलब्ध गराउदै उपचारको लागि विभिन्न स्थानमा भौतारिन नपर्ने वातावरण निर्माण गर्ने आफुहरुको लक्ष रहेको स्पष्ट पारे ।
उनले अस्पताललाई व्यवस्थित र प्रभावकारी सेवा प्रवाहको लागि नयाँ व्यवस्थापकीय पक्ष खटिएको जानकारी दिदै भने–‘हामीले गुणस्तरिय उपचारको लागि अनेत्र भौतारिन नपरोस भन्ने धारणाले अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनको प्रयास गरेका छौ ।’
उनले अन्नपूर्ण अस्पतालसँगको सहकार्यमा न्यूरो सेवालाई स्तरीय बनाउदै सेवा प्रवाह गरेको र शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरले आगामी साउन १ गतेदेखि मुटु उपचारको लागि क्याथल्याव सेवा दिने तयारी गरेको जानकारी दिए ।
शिक्षण अस्पताल कोहलपुरका निर्देशक तथा एनेस्थेसियोलोजिष्ट डा.रेशमबहादुर रानाले अस्पतालबाट प्रवाह हुने सेवालाई क्रमश स्तरीय बनाउँदै लगिएको दाबी गरे । उनले आफु आएपछि क्रिटिकल केयरमा शिक्षण अस्पताल कोहलपुर सबैभन्दा बढी स्तरीय रहेको बताए ।
निर्देशक डा रानाले कोहलपुर शिक्षण अस्पताललाई चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रुपमा विकास गरिने तयारीमा आफुहरु रहेको पनि बताए । कोहलपुरबाट एमबीबीएस, एमडी, एमडी एमएस, विएस्सी नर्सिङमा अध्ययन हुँदै आएको छ । आगामी साउनदेखि बिडिएस, बिएमआइटी, बिएमएलटीको अध्ययन गराउने तयारीमा कम्पनीले तयारी अघि बढाएको जनाईएको छ ।
अस्पतालले यही साउन १ गतेदेखि कोहलपुर अस्पतालमा वन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरिने अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी प्रमुख डा.सन्तोष कुमार विएन, शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक डा.सन्तोष शर्मा, उपनिर्देशक डा.कुमार पोख्रेल, सहनिर्देशक डा.रोमन किदवाई, प्रिन्सिपल डा.अनुप शर्मालगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर शिक्षण अस्पताल र शिक्षण अस्पताल नेपालगञ्जमा दैनिक सरदर चार–चार सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
हेल्थइरा । २०८१, २२ जेष्ठ मंगलवार