देशभरका ७३ जिल्लाबाट १ हजार ५ सयमा डेंगु पुष्टि

नेपालगञ्ज :  चालु आर्थिक वर्षको पुस यता यो वर्षको मनसुन शुरु हुँदासम्म देशभरका ७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमणको पुष्टि भएको पाईएको छ ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता मात्र देशभरका ७३ जिल्लाबाट एक हजार ५ सय २ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३ सय ८०, कोशी प्रदेशमा तीन सय, गण्डकी प्रदेशमा ३ सय ३ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ४७, सुदूरपश्चिम प्रदेशमा २ सय १८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको पाईएको हो ।

कसरी सर्छ त डेंगु ?

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन् ।

त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन् । गिजाबाट रगत बग्ने, तारनतार वान्ता हुने, बान्तामा रगत देखिने, चिडचिडापन वा छटपटी हुने वा रिङ्गाटा लाग्ने, अत्यधिक पेट दुख्ने, डाइरिया हुने जस्ता गम्भीर लक्षण देखिन्छन् ।

कसरी गरिन्छ त डेंगुको उपचार

डेंगु सङ्क्रमणको उपचार लक्षणका आधारमा गरिन्छ । चिकित्सकका अनुसार प्राय डेंगु सङ्क्रमणका लक्षण आफै हराएर जान्छन् । थोरै केसमा मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने चिकित्सकको भनाइ छ ।

डेंगु रोग घरमानै बसेर उपचार गर्न सकिन्छ । सङ्क्रमितले घरमा नै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने र ज्वरो घटाउन प्यारासिटामोल खाना चिकित्सकको सुझाव छ । डेंगु सङ्क्रमण भएको समयमा ब्रुफिन र एन्टिवायोटिक खान नहुने चिकित्सकको सुझाव छ । यदि बिरामीमा गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पतालमा लैजान पर्छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घ रोगी, पाँच वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती यसको जोखिममा हुने गर्छन् । यति जोखिम समूहका मानिसमा डेंगु सङ्क्रमण भएमा गम्भीर लक्षण देखिने चिकित्सक बत्ताउँछन् ।

कसरी जोगिने त अब ?

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुको सङ्क्रमणबाट बच्ने एक मात्र उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.पुनको सुझाव छ ।

उनी भन्छन –‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाडा बेलाबेला सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया