काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो । पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।
महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुस यता २५ जिल्लाबाट १ सय ८७ जनामा कोरोना पुष्टि भएका छन् । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएका छन् ।
उनी भन्छन्–‘नेपालमा हाल ओमिक्रोनको नयाँ पुस्ता पुष्टि हुने क्रम जारी छ । हाल सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी तीन, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ पुष्टि भएको परीक्षणले देखाएको छ ।’
विशेषगरी भारतबाट फर्कनेमा सीमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रममा बढ्दो रहेको डा. बुढाथोकीको भनाइ छ ।
ओमिक्रोनको सब भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकासित रूप हुन् । भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन भइरहन्छ । यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ । सीमा क्षेत्रमा विषेश सचेतना अपनाउन आवश्यक औल्याईएको छ ।
हेल्थइरा । २०८२, १० असार मंगलवार