
नेपालगञ्ज, : योग समिति नेपालको चौथो अधिवेशनबाट पुनः योगगुरु एवं आयुर्वेदाचार्य डा. गिरीराज भट्टराई अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
स्थापना दिवससँगै आयोजित अधिवेशनले नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टंक पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह–कोषाध्यक्षमा मन्दरा शर्मा चयन गरेको छ ।
यसैगरी सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतीराम वली, डा. दिनेश कुमार चौधरी, तारा प्रसाद अधिकारी र रामचन्द्र तिवारी रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगलाई स्वस्थ जीवनको आधारका रूपमा व्याख्या गर्दै हरेक व्यक्तिले दैनिक जीवनमा योगलाई अपनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले योगले मानिसलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा राखे ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम बनेको बताएका थिए। योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्दै सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको उनीहरूको भनाइ थियो ।
योग समिति नेपालका अध्यक्ष डा. गिरीराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद शाखा प्रमुख सुरेश कुमार पुन, डा. विनोद थापा, डा. कल्पना थापा, समितिका सल्लाहकार जगदीशचन्द्र तिमिल्सिना, मीनबहादुर मल्ल, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमन, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने सहयोगी, शुभेच्छुक तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
यस अवसरमा वर्षउत्कृठ पुरस्कारबाट योग प्रशिक्षक कमला वली सम्मानित भएको कार्यक्रममा बोल्दै डा. विनोद थापाले योगलाई जीवनशैलीसँग जोड्न सके धेरै रोगबाट बच्न सकिने बताउँदै बिहानको समयलाई सदुपयोग गरी नियमित योग अभ्यास गर्न सबैलाई आग्रह गरे ।
समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा)का अनुसार हाल योग समिति नेपालका बाँके, बर्दिया लगायत विभिन्न जिल्लामा गरी ५८ वटा केन्द्र सञ्चालनमा रहेका छन् । छोटो समयमै सर्वसाधारणलाई योगप्रति आकर्षित गर्न सफल भएको समितिले नियमित योगाभ्यास, स्वास्थ्य सचेतना तथा प्राकृतिक जीवनशैली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए ।




हेल्थइरा । २०८३, १० जेष्ठ आईतवार