नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपालगञ्जमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा बारे १० वर्षे रणनीति (२०८१–२०९० ) निर्माणका लागि प्रदेश स्तरिय सरोकारवाहरुको उपस्थितिमा कार्यशाला आयोजना गरिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय तथा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाको आयोजनामा बढ्दो नसर्नेरोग निवारणका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीको विकासका लागि दश वर्षे रणनीतिका लागि कार्यशालाको आयोजना गरिएको हो ।
नसर्नेरोगको उपचार र निदानमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धती नै मौलिक चिकित्सा रहेको कुरामा जोड दिदै संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले मन्त्रालयका तर्फबाट आयुर्वेदको विकासका लागि १० वर्षे आवधिक योजना निर्माणको चरणमा रहेको बताए ।
उनले भने–‘ आयुर्वेद मात्रको विकास नभएर यो १० वर्षे आवधिक योजनाले हाम्रा गाउघरमा गरिने परम्परागत उपचार विधि पद्धतीको संरक्ष्ण र विकासमा ठूलो टेवा पुग्ने छ ।’ उनले आयुर्वेद, होमियोपेथी, आम्ची, योग तथा ध्यान, एक्ुपञ्चरलगायतका प्रविधिका विषयमा काम गर्नको लागि उर्जा दिने बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले लुम्बिनी प्रदेशमा खासगरी नसर्ने रोगको निबारणका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्साको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उहाँले प्रदेशमा सुधारिएको भान्सा, विद्यालय योग तथा आयुर्वेद शिक्षा सञ्चालन गरिएको बताउदै दशवर्षे रणनीतिले आयुर्वेदमा नयाँ आयाम थपिने कुरामा जोड दिए । उनले प्रदेशले निरोगी नागारिक अभियान सञ्चालन गरी विभिन्न खालका रोगबाट जोगिने उपायलाई जनस्तरमा पुराउने योजना निर्माण गरेको उल्ल्ेख गरे ।
उनले भने–‘ पछिल्लो समयमा नसर्ने रोगहरु खासगरी क्यान्सर, उच्च रक्तचाप, मधुमेह, स्नायु सम्बन्धित, मानशिक तनावले निक्कै असर पुराएको अवस्थामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा नै सबैको साहारा हुन सक्ने छ । त्यसैले प्रदेश सरकारले आयुर्वेदमा राम्रो कार्यक्रम तय गर्दै छ ।’
स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले यस्तो खालका कार्यशालाबाट मन्त्रालयले आयुर्वेद तथा बैकल्पिक चिकित्साका क्षेत्रमा ठोस योजना बनाउन सहयोग पुग्ने दाबी गरे ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख डा पुष्पराज पौडेलले स्वास्थ्य सेवामा सबैको पहुँच पुराउने उदेश्यले आयुर्वेद तथा बैकल्पिक चिकित्साको विकासका लागि विशेष प्राथामिकता प्राप्त कार्यक्रम भएकोले १० वर्षे रणनीति निर्माणमा जुटेको बताए ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धती मात्र नभएर परम्परागत तरिकाबाट उपचार गर्ने पद्धतीको समेत संरक्षण गर्दै आयुर्वेद र बैकल्पिक चिकित्साको माध्यामबाट नसर्ने रोगको उपचार तथा स्वास्थ रहनका लागि यस्ता रणनीतिक कार्यशाला कोशेढुंगा सावित हुन सक्ने छन् ।
कार्यक्रममा संबिधान सभा सदस्य मैकुलाल बाल्मिकी, विभिन्न जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदाय, आयुर्वेद औषधालयका प्रमुख तथा स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
हेल्थइरा । २०८१, २० फाल्गुन मंगलवार