रुद्र सुवेदी , नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा हात्तिपाईले रोग निबारणका लागि विषेश अभियान अन्तरगत आमऔषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ । बाँकेमा बिगत १४ वर्षदेखि हात्तिपाईले रोग बिरुद्ध नियमित आमऔषधि खुवाउने अभियान सञ्चालन गर्दै आईएको छ ।
नेपालका ७६ जिल्ला हात्तिपाईले रोग उन्मुलनको अवस्थामा पुग्दा बाँके भने नेपालगञ्ज उपमहानगर, नरैनापुर गाउपालिका, डुडुवा गाउपालिका र बैजनाथ गाउपालिका वडानं. ४ का कारण हुन सकेको छैन ,।
बाँकेको नरैनापुर गाउपालिकामा हात्तिपाईले रोग विरुद्धको अभियान अन्तरगत आमऔषधि खुवाउन सुरु गरिएकोे नरैनापुर गाउपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए ।
उनले नरैनपुरका ६ वटै वडामा हात्तिपाईले बिरुद्धको आम औषधि खुवाउने अभियान फगुण ७ गतेदेखि सुरु गरिएको बताए । ‘नरैनापुरका छ वटै वडाका ३३१ जनामा गरिएको एन्टीजेन परिक्षणमा ३६ जना पोजेटिभ पाईएपछि नरैनापुर हात्तिपाईलेको अत्यन्तै जोखिममा भएकोले अभियान सञ्चालन गरिएको हो’–उनले भने ।
पालिकाले अभियानमा कोही नछुटुन भनेर वडामा रहेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई प्रत्येक नागरिकको घरमा सम्बन्धित वडाका जनप्रतिनिधि सहित पुगेर औषधि खुवाईने बताए ।
सन २०११ देखि हात्तिपाईले विरुद्धको आमऔषधि सेवन गराई सन २०१७ मा नेपाल हात्तिपाईले रोग उन्मुलन हुनुपर्ने तर, बाँकेमा बिगत १४ वर्षदेखिको नियमित आम औषधि खुवाउने अभियान सञ्चालन गर्दा पनि हात्तिपाईले उन्मुलन हुन सकेको छैन ।
बाँकेको नेपालगञ्ज उपमहानगर, नरैनापुर गाउपालिका, डुडुवा गाउपालिका र बैजनाथ गाउपालिकाको वडानं. ४ बाधक भएपछि यी पालिकामा विशेष अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाईले रोग बिरुद्धको फोकल पर्शन दुर्गा गौतमले जानकारी दिईन ।
उनले भनिन–‘ हात्तिपाईले रोग बिरुद्धको आमऔषधि सेवन कार्यक्रममा सकेसम्म सबैलाई समेट्न सकियोस भनेर अभियानलाई पृथक तरिकाले सञ्चालन गरिएको छ । यसका लागि धर्मगुरु, नागरिक अगुवाहरुको समेत साथ र सहयोगमा अभियान सञ्चालन गरिएको छ ।’
नरैनापुर गाउपालिकामा हात्तिपाईलेको जीवाणु सबैभन्दा बढी भेटिएको तथ्याङ्कले देखाएकोले नरैनपुरका सबै जनप्रतिनिधिहरुले हात्तिपाईले बिरुद्धको आमऔषधि सेवन अभियानमा सहयोग पुराउन आपश्यक रहेको नरैनापुर–४ का वडा अध्यक्ष मनोज शर्माले आग्रह गरे ।
उनले भने–‘ नरैनापुर हात्तिपाईले रोगको अत्यन्तै जोखिममा छ । अहिले आम औषधि सेवन अभियान सञ्चालन भएको छ । सबैले नजिगको स्वास्थ्य संस्था वा घर–घरमा आउने स्वास्थ्यकर्मीले दिएको औषधि सेवन गर्न अनुरोध गर्दछु ।’ उनले आफुले पनि अषधि खाएको र औषधि सुरक्षित रहेको भज्दै कुनै पनि हल्लाको पछाडि नलाग्न आग्रह समेत गरे ।
हात्तिपाईले रोगका कारण अण्डकोश सुन्निने, खुट्टा हात्तिको जस्तो भएर हिड्न गाह्रो हुने जस्ता समस्या निम्त्याउने साथै यो रोग लागेपछि उपाचार हुन नसक्ने भएकोले सबैलाई आमऔषधि सेवन गर्न नरैनापुर गाउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले अपिल गरेका छन् ।
बाँकेका नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ६४ हजार ९६ जना, डुडुवा गाउपालिकाका ४२ हजार १ सय ७४, नरैनापुर गाउपालिकाका ४३ हजार ८ सय ७७ र बैजनाथ गाउपालिकाको वडानं. ४ का ८ हजार ९ सय ६२ जनालाई आम औषधि सेवन कार्यक्रम मार्फत औषधि सेवन गराईने कार्यक्रम रहेको छ ।
नेपालगञ्जमा फागुण ५ गतेदेखि नरैनापुर, डुडुवा र बैजनाथमा फागुण ७ गतेदेखि आमऔषधि सेवन अभियान सञ्चालन गरिएको छ ।
हेल्थइरा । २०८१, ८ फाल्गुन बिहीबार