किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण, उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा हुन्छ ।

चार वर्ष पुगेपछि भने सामान्यतया उनीहरु पिसाब नियन्त्रण गर्न सक्ने भइसक्छन् । तर चारदेखि पाँच प्रतिशत बालबालिकामा भने पिसाब नियन्त्रण गर्ने उमेर भइसक्दा पनि पिसाब चुहिने समस्या भइराख्छ । यो समस्या सामान्य मान्न सकिंदैन ।

यो कस्तो समस्या हो ?

उमेर पुगेपछि पनि पिसाबमा स्वनियन्त्रण नहुनुलाई चिकित्सकीय भाषामा ‘पिसाबको अस्थिरता वा इनुरेसिस’ भनिन्छ । प्राय: राति ओछ्यानमा सुत्दा पिसाब गर्ने हुँदा यसलाई बेड वेट पनि भनिन्छ । यसलाई दुई भागमा विभाजन गरिन्छ, प्राइमरी बेड वेटिङ र सेकेन्डरी बेड वेटिङ ।

यदि ६ महिना वा सोभन्दा बढी समय लगातार ओछयानमा पिसाब फेर्छन् भने त्यसलाई प्राइमरी बेड वेटिङ भनिन्छ । पिसाब चुहिने समस्या ६ महिनापछि पुन: बल्झियो भने त्यसलाई सेकेन्डरी बेड वेटिङ भनिन्छ ।

कारण

वंशाणुगत : यदि बाबुमा बाल्यकालमा यस्तो समस्या थियो भने बच्चामा पनि यो समस्या हुनसक्छ ।

सानो थैली : यदि बच्चाको पिसाबको थैली राम्रोसँग विकास नहुँदा पिसाबलाई राति नियन्त्रण गर्न कठिन हुन्छ ।

थैली सुस्त हुनु : पिसाब थैली नियन्त्रण गर्ने स्नायुप्रणालीले सुस्त काम गरिरहेको छ भने थैली भरिन्छ । तर बच्चा ब्युझिंदैनन् वा पिसाब आएको चाल पाउँदैनन् ।

हार्मोन असन्तुलन : केही बालबालिकामा एन्टिडियुरेटिक (एडीच) हार्मोन उत्पादन हुँदैन । जसले गर्दा पिसाब नियन्त्रण हुँदैन ।

त्यस्तै पिसाब नियन्त्रण गर्ने भासोपेरेसन हार्मोनको स्तर कुनै कारणवश घटेको छ भने पिसाब आइरहने हुन्छ ।

युरिन ट्रयाक इन्फेक्सन (यूटीआई ) : पिसाबमा संक्रमण अर्थात् युरिन ट्रयाक इन्फेक्सनले पनि बच्चामा पिसाब नियन्त्रण गर्ने क्षमता कम हुन्छ । सुतेको समयमा ओछयान भिज्नुका साथै पिसाब रातो र गुलाबी हुनु र पिसाब गर्दा पोल्नु जस्ता समस्या पिसाबमा संक्रमणको लक्षण हुन् ।

मधुमेह : रातमा ओछ्यानमा पिसाब फेर्नु मधुमेह भएको पहिलो संकेतको रुपमा देखिन्छ । यस्तोमा एकपटकमै औसतभन्दा बढी पिसाब हुनसक्छ ।

कब्जियत : कब्जियतको समस्याले सताइराख्ने बालबालिकाको आन्द्राले राम्रोसँग काम गर्न सक्दैन । कब्जियत लामो समयसम्म रहयो भने दिसा र पिसाब गराउने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि पिसाब नियन्त्रण हुन कठिन हुन्छ ।

ढाडको नसामा समस्या : ढाडको नसामा समस्या भएमा पनि पिसाब नियन्त्रण हुँदैन ।

मानसिक असर

यदि बच्चामा पिसाब छुहिने समस्या छ भने उनीहरु आफूलाई लज्जित महसुस गर्छन् । जसले बिस्तारै बच्चामा मानसिक समस्या हुनसक्छ । एक त ठूलो भए पनि ओछ्यानमा पिसाब गर्ने बानीले उनीहरुमा हीनतावोध गराइराख्छ । जसकारण उनीहरु टाढा घुम्न जान पनि सक्दैनन् । बिस्तारै उनीहरु डिप्रेसनको सिकार हुन्छन् ।

कुन उमेरसम्म देखिन्छ ?

-यो समस्या पाँच वर्षसम्मको बालबालिकामा प्रत्येक ६ जनामा एकलाई हुनसक्छ ।

-६ वर्षका बालबालिकामा प्रत्येक ८ जनामा एकलाई हुन्छ ।

-७ वर्षका बालबालिकामा प्रत्येक १० जनामध्ये एकलाई हुन्छ ।

– १५ वर्षसम्मको किशोरकिशोरीमा ०.५ प्रतिशतलाई हुनसक्छ ।

लक्षण

पिसाब चुहिने समस्या आफैंमा एउटा रोग हो । यद्यपि अन्य रोगको संकेत पनि हुनसक्छ । यदि पिसाब चुहिनेबाहेक केही अन्य लक्षण छैन भने त्यसलाई मोनोसिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

त्यस्तै, पिसाब चुहिनेसँगै अन्य समस्या पिसाबको धारा सानो आउने, पोल्ने, छिटोछिटो लाग्ने, रोक्न नसक्ने जस्ता लक्षणलाई नन् मानो सिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

पहिचान

यसको उपचार गर्नुभन्दा अघि बच्चाको घरको वातावरण सोधपुछ गरिन्छ । त्यसपछि लक्षणअनुसारको पिसाबथैली, ढाड र पेटको जाँच गरिन्छ । त्यस्तै पिसाबको संक्रमणको पनि जाँच गरिन्छ ।

अर्को भनेको ब्ल्याडर डायरी मेन्टेन गरिन्छ । २४ घण्टाको अवधिमा कति तरल पदार्थ पिएको छ ? कति पिसाब फेरेको छ ? त्यो हेरेर समस्या पत्ता लगाइन्छ ।

समाधान

यदि राति पिसाब गर्नेबाहेक अन्य लक्षण छैन भने बच्चाको व्यवहारमा केही परिवर्तन ल्याउन सुझाइन्छ । कतिपय केसमा यो उपचार गर्नुपूर्व आमाबाबुलाई उमेर बढ्दै गएपछि बिस्तारै नियन्त्रण हुनसक्छ भन्ने कुरामा विश्वस्त पारिन्छ ।

अलार्म राखेर बच्चालाई राति एकपटक पिसाब फेर्न उठाउन सिकाइन्छ । यसले पनि रोकथाम हुनसक्छ । राति सुत्नुअघि झोलिलो पदार्थ खान दिनु हुँदैन । अन्य लक्षण भएमा लक्षणअनुसारको उपचार गरेपछि ओछ्यानमा पिसाब फेर्ने समस्या कम हुन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया