विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको छ ।
यसको अर्थ निमोनिया शिशु तथा बालबालिकाको लागि घातक साबित हुन सक्छ । तर बेलैमा निमोनिया हुन नदिन र भएमा तत्काल पहिचान गरी बचाउन विशेषगरी जाडो मौसममा सर्तकता अपनाउन आवश्यक छ ।
के हो निमोनिया ?
फोक्सोमा कुनै कारणवश हुने संक्रमणलाई निमोनिया भनिन्छ । निमोनिया यस्तो रोग हो, जसबाट सबै उमेरसमूह प्रभावित हुन सक्छ । विशेषगरी शिशु यसको जोखिममा बढी हुन्छन् ।
कारण
निमोनिया गराउन विभिन्न तत्व कारक मानिन्छ । शिशुहरुले बान्ता गर्दा निलेर त्यसको कण छातीसम्म पुगेर निमोनिया हुन सक्छ । अर्को कारण भनेको मट्टीतेलको कण पनि फोक्सोमा पुगेर निमोनिया हुने जोखिम हुन सक्छ ।
त्यस्तै चिसो मौसममा देखा पर्न सक्ने भाइरल इन्फ्लुएन्जा, ब्याक्टेरियाको संक्रमण र रुघाखोकीको समयमा उपचार नहुँदा निमोनिया हुन सक्छ । जन्मिंदा आवश्यक खोप नपाएका बालबालिकालाई पनि निमोनियाको जोखिम हुन्छ ।
लक्षण
उच्च ज्वरो आउने, सास फेर्न कठिन हुने, छाती दुख्ने, छिटो-छिटो सास फेर्ने, खोकी लाग्ने, कोखा हान्ने, नङ वा ओठमा नीलो रङ देखिने निमोनियाको लक्षण हुन सक्छ ।
शिशुमा पेट दुख्ने, बान्ता हुने, निमोनियाले गम्भीर असर पुर्याएको छ भने अक्सिजनको स्तर कम हुने र ओठ नीलो हुने लक्षण देखिन्छन् ।
कति बेला अस्पताल लैजाने ?
यदि रुघाखोकी र ज्वरो हल्का मात्र छ तर सास फेर्न समस्या छैन र बान्ता पनि गरिरहेको छैन भने घरमै ओरल एन्टिबायोटिक औषधि दिने, खानपाान र चिसोबाट जोगाए निको हुन सक्छ ।
तर अत्यधिक ज्वरो, सास फेर्न कठिनाइ भइरहेको खण्डमा भने तत्काल अस्पताल लैजानुपर्ने हुन्छ ।
सास फेर्न समस्या भएको कसरी थाहा पाउने ?
दुई महिनाभन्दा सानो शिशुको सास फेर्ने क्रम ६० भन्दा माथि भएमा, दुई महिनापछिको उमेरदेखि एक वर्षसम्मको बच्चामा ५० भन्दा बढी भएमा, दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा ४० भन्दा बढी र पाँच वर्षसम्मका बालबालिकाको ३० भन्दा बढी भएमा सास फेर्न कठिन भइरहेको थाहा पाउन सकिन्छ ।
उपचार
निमोनियाको उपचार छिटो पहिचान गरी उपचार गरेमा निमोनियाले हुन सक्ने सम्भावित जटिलताबाट बच्न सकिन्छ । यसको उपचारमा सामान्य लक्षण भए ओरल एन्टिबायोटिक औषधि दिन सकिन्छ । तर बच्चाको श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो, खाना पचाउन नसक्ने अवस्थामा अस्पताल भर्ना गरी सुईबाट एन्टिबायोटिक औषधि दिनुपर्ने हुन्छ ।
भाइरल निमोनिया छ भने एन्टिभाइरल औषधि चलाउनुपर्छ ।
जटिलता
निमोनियमाको समयमा उपचार भएन वा सहीसँग उपचार नभएमा ज्यानै जानेसम्मको जोखिम हुन सक्छ । निमोनियाको कारण शरीरमा अक्सिजनको कमी भएपछि मुटु, मस्तिष्कलगायत अंगहरुमा पनि असर गर्छ ।
साथै, आईसीयूमा भर्ना गर्नुपर्ने वा सास फेर्न कठिन भई कृत्रिम सास दिनुपर्ने अवस्था आउन सक्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण निमोनिया बढ्दै गई रगतमा फैलिएर शरीरभर नै संक्रमण हुन सक्छ । जसलाई ‘सिभियर सेप्सिस’ भनिन्छ । अर्को भनेको निमोनिया नै बिग्रिएर छातीमा पानी जम्ने हुन सक्छ ।
जोगिन के गर्ने ?
निमोनियाबाट जोगाउन नवजात शिशुलाई निमोनियाविरुद्धको खोप अनिवार्य दिनुपर्छ । जाडोयाममा बच्चालाई चिसो र भाइरल संक्रमण भएको व्यक्तिको सम्पर्कबाट टाढा राख्नुपर्छ ।
दुई वर्षभन्दा मुनिको नवजात शिशुमा प्रतिरोध क्षमता कम हुने भएकाले धुवाँधुलो तथा प्रदूषण र भीडभाड क्षेत्रमा लैजानु हुँदैन ।
रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । साथै, बच्चाको खानपान र पोषणमा ध्यान दिनुपर्छ । कुनै किसिमको लक्षण देखिएमा तुरुन्त अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ ।
हेल्थइरा । २०८०, १६ माघ मंगलवार