नेपालगञ्ज : व्यवसायमा पहिचान बनाएका मारवाडी समुदायका महिलाहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन ।
मारवाडी महिला मञ्च बाँकेको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा बाँकेको जानकी गाउपालिको वडानं. ५ को गुरुवागाउको विद्यालयमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको मञ्चका अध्यक्ष कुसुम दुगडले जानकारी दिईन ।
उनले मारवाडी सेवा परिषदको अभिभावकत्वमा मारवाडी युवा मंच तथा मारवाडी युवती मञ्च समेतको सहभागितामा सो शिविर आयोजना भएको बताईन ।
उनले भनिन–‘ हामीले विपन्न नागरिकलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छौ । जटिल अवस्थाका विरामीलाई मेडिकल कलेजमा रिफर गरी उपचार गरिने छ । मेडिकल कलेजले २५ प्रतिशत छुट हुने व्यवस्था मिलाईएको छ ।’
माडवाडी समुदायले विभिन्न सामाजिक कार्य गर्ने क्रममा यो स्वास्थ्य शिविर पनि एक भएको कार्यक्रम ंसयोजक समेत रहनु भएका डा. पिउस कनोडियाले जानकारी दिए । उनले मारवाडी समुदायले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।
सोही शिविरमा सेवा लिन आएका स्थानीय लोकनाथ बर्माले गाउमै निशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गरेर आफुहरुले निशुल्क स्वास्थ्य सेवा लिन पाएकोमा अत्यन्तै हर्षित रहेको बताए ।
जानकी गाउपालिकाका वडानं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले मारवाडी महिला मञ्चले आफ्नो वडामा निशुल्क स्वास्थ्य शिविर राखेर ठूलो गुण लागाएको बताए । उनले विपन्न तथा सिमान्तकृत समुदायकालाई आँखा, हाडजोर्नी, बालरोग, महिलालगायतका स्वास्थ्य सेवा प्रवाह गरेको बताए ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको विशेषज्ञ चिकित्सक, निशुल्क औषधि लगायतको प्रविधिक सहयोगमा माडवारी महिला मञ्चले आयोजना गरेको सो स्वास्थ्य शिविरबाट छ सय ५०बढीले विषेशज्ञ सहितको स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ ।
हेल्थइरा । २०८०, २७ फाल्गुन आईतवार