बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु

नेपालगञ्ज :  बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान बिहीबारदेख सुरु भएको छ । दोस्रो चरणमा राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार दोस्रो चरणमा चारवटा पालिकाका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका १२ हजार ३ सय ६१ जना बालिका र किशोरीलाई खोप लगाइने छ ।

यसअघि माघ २२ गते सुरु भएको पहिलो चरणको खोप अभियानअन्तर्गत बाँकेको नेपालगञ्जसहित चार पालिकाका २२ हजारभन्दा बढी बालिका र किशोरीलाई खोप लगाई सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो चरणको खोप अभियान राप्तीसोनारी गाउँपालिकाको शिवशक्ति माध्यामिक विद्यालयबाट सुरु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

सो अभियानको शुरुवात प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाले गरेकी थिईन । उनले धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरजस्तो रोगबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेकाले त्योबाट रोक्न अहिलेनै खोप लगाउन उपयुक्त भएको बताईन ।

क्यान्सर भयावह रोग भए पनि आवश्यक सावधानी र चेकजाँच गरे धेरै क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन सकिने पूर्वमन्त्री केसीको भनाइ थियो ।

प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीले पनि नेपाल सरकारको ठुलो लगानी रहेको यो अभियानलाई सफल बनाउन लक्षित समूहले खोप लगाउन आवश्यक रहेको बताए ।

यसैगरी, अर्का प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप उपयुक्त विकल्प भएको जनाउँदै लक्षित समूहका सबै बालिका र किशोरीलाई खोप लगाउन आग्रह गरिन ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही र गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतले पहिलो चरण झै दोस्रो चरणको अभियानलाई पनि सफल पार्न सबैसँग अनुरोध गरेका छन् । दुबै चरणमा गरेर जिल्लामा करिब ३७ हजार बालिका र किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया