बाँकेका नेपालगञ्ज, डुडुवा र नरैनापुर हात्तिपाईलेको उच्च जोखिममा

नेपालगञ्ज :  देशभरीबाट हात्तिपाईले रोग उन्मुलन हुँदा बाँके भने चार पालिकाका कारण अझै पनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाईएको छ ।

बाँकेका नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउपालिका, नरैनापुर गाउपालिका र बैजनाथ गाउपालिकाको वडानं. ४ हात्तिपाईले रोगको उच्च जोखिमा रहेकोले आम औषधि सेवन अभियान सञ्चालन गरिने भएको हो ।

बाँकेको तीन पालिका र एक वडा हात्तिपाईलेको अत्यन्तै जोखिममा रहेकोले ती पालिका र वडामा हात्तिपाईले बिरुद्धको आम औषधि सेवन अभियान सञ्चाल गरिने तयारी अगाडि बढाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए ।

उनले भने–‘ बाँके हात्तिपाईलेको अत्यन्त जोखिममा छ । देशका ७६ जिल्लामा उन्मुलन भईसक्यो बाँकेका तीन पालिका र १ वडाका कारण जोखिम निम्तिएको हो ।’

उनले समुदायका यसको व्यपकताको बारेमा विभिन्न क्षेत्रका व्यक्ति नागरिक अगुवा, पेशाकर्मी सबैको सहयोग र सहकार्यबाट मात्रै हात्तिपाईले बिरुद्धको आम औषधि सेवन कार्य सफल हुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरे ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आम औषधि सेवन अभियानमा औषधि सेवन गर्नुपर्ने एकजना ब्यक्ति पनि छुट्न नहुँने कुरामा जोड दिदै ग्रामीण भन्दा सहरी क्षेत्रमा समस्या देखिएको आफुले पाएको बताए ।

अन्तरधार्मिक सामाजिक सद्भाव समितिका अध्यक्ष तथा बागेश्वरी मन्दीरका मुल महन्त हिन्दू धर्मगुरु चन्द्रानथ यागीले समुदाय स्तरबाट हात्तिपाईले बिरुद्धको आम औषधि सेवन अभियान सञ्चालनका लागि सहयोग पुराउने प्रतिबद्धता जनाए ।

उनले भने–‘हामी धर्मगुरुहरुले समाजको हितका लागि जहिले पनि विभिन्न अभियान सफल पार्न भूमिका खेलेका छौ । हात्तिपाईले रोग निबारणको लागि आम औषधि सेवन कार्यक्रममा पहिला हामी धर्मगुरुहरु खान्छौ र समाजलाई यो औषधि खानका लागि अपिल गर्छौ ।’

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले सन २०११ सालमा अभियान सुरु गर्दा भएको प्रविधिक त्रुटीका कारण हात्तिपाईले निवारणमा कठिनाई भएको बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बास नेपालले नेपालगञ्ज, डुडुवा र नरैनपुरमा यसको प्रभाव र अवस्थाको बारेमा छुट्टाछुट्टै छलफप भएको बताए । कार्यक्रममा रोग नियन्त्रण तथा ईपिडिमियोलोजि बिभागका जनस्वास्थ अधिकृत रामकुमार महतोले हात्तिपाईले रोगको बारेमा प्रस्तुती गरेका थिए ।

बाँकेका नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ६४ हजार ९६ जना, डुडुवा गाउपालिकाका ४२ हजार १ सय ७४, नरैनापुर गाउपालिकाका ४२ हजार ३ सय ६९ र बैजनाथ गाउपालिकाको वडानं. ४ का ८ हजार ९ सय ६२ जनालाई आम औषधि सेवन कार्यक्रम मार्फत औषधि सेवन गराईने भएको छ ।

हात्तिपाईले रोगको उच्च जोखिमा रहेका यी पालिका तथा वडामा आमऔषधि सेवन अभियान फागुण ४ गतेदेखि नेपालगञ्जबाट सञ्चालन गरिने तयारी गरिएको छ । बाँकेमा १९ जना हात्तिपाईलेका रोगी रहेको र फैलने दर अधिक भएको पाईएकोले अभियान सञ्चालन गर्न लागिएको हो । बाँकेमा १४ बर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया