अब कोहलपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यो घोषणा संगै बाँकेका चारवटा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएका छन् । खजुरा, जानकी र बैजनाथ गाउँपालिका यसअघि नै घोषणा भइसकेका छन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलवार औपचारिक रुपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चिततता तथा दिगोपना घोषणा गरेका हुन ।

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले सबै बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । ‘स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका अथक प्रयासले मात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको हो’–उनले भने ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरुलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउदै नियमित खोपका कारण जीवनको आयु लम्विने भएकाले आम अभिभावकहरुलाई यसको महत्वबारे जानकारी गराउनुपर्ने कुरामा जोड दिए । पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई कोहलपुर नगरपालिकाले मूल्यांकन गरेको उनको भनाई थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताए । खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरील जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया