नेपालगञ्ज : तराइमा बढेको प्रचण्ड गर्मी र गर्मीकै कारणले बिरामी हुनेको संख्या ह्वात्तै बढैको छ । बिरामीको चापले अस्पताल आफै थला परेका छन् ।
वाँकेको भेरी अस्पतालमा बिरामीको भिडभाडले खुट्टा राख्ने ठाँउ छैन । अस्पताल प्रशासनले उचित व्यवस्थापन गर्न नसक्दा उपचारका लागि आउने बिरामी झन् बढी बिरामी हुने अवस्था छ ।
भेरी अस्पतालको भवन पुरानो र जिर्ण भैसक्यो । दरबन्दी तथा अस्पतालको शैया करिव ४० वर्ष अघिको हो । तर, बिरामीको चाप हरेक दिन बढ्दो छ । यस्तो अवस्थामा भेरी अस्पतालबाट सेवा दिन चिकित्सकहरुलाई जति कठीन छ, त्यो भन्दा बढी बिरामीलाई सेवा लिन ।
समयमा उपचार पाउन नसकेको दुखेसो बिरामीको छ । जनशक्ति तथा पूर्वाधारको अभाव रहेको गुनासो चिकित्सकहरुको छ । नेपालगञ्ज तथा आसपासको यो गर्मीले बिरामीको संख्या झन् झन् बढ्दैछ ।
दुई तीन दिनदेखि उपचारका लागि अस्पतालमै भौतारिनु पर्ने बिरामीको गुनासो छ । बल्लतल्ल चिकित्सकलाई भेटे पनि प्रयोगशालाको रिपोर्ट देखाउन अर्को युद्ध जितेसरह हुने उनीहरुको अनुभव छ ।
भेरी अस्पताल नेपालगञ्जका निमित्त मेसु डा. दिनेश कुमार चौधरीले बढ्दो बिरामीको चापलाई धान्न अस्पतललाई धौ धौ परिरहेको बताए । उनले बिरामीको बढ्दो चापले सेवा प्रवाहमा समस्या थपिएको उल्लेख गर्दै भने–‘ अस्पतालमा विरामीको चाप बढ्दो छ । भएको जनशक्तिको अधिकतम उपयोग गरी सेवा प्रवाह गर्दै आएका छौ ।’
भेरी अस्पतालमा विरामीको अधिक चाप भएपछि पुरानो र नयाँ भवनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा १०० शैया सरकारी र ५० शैया अस्पताल विकास समितिबाट सञ्चालन गरिदै आएको भएपनि २१० शैया संचालनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको भनाइ छ ।
अध्यक्ष शाहले अस्पताल सबैभन्दा पुरानो भएको उल्लेख गर्दै विरामीको संख्या अधिक हुनु र विरामीको चाप अनुसारको सेवा प्रवाह गर्न आफुहरुलाई हम्मेहम्मे परेको बताए । उनले अस्पतालमा नयाँ बनेको भवनपनि परा निर्माण भई नसकेको कारण सेवा प्रवाहमा केही कठिनाई आएको बताए ।
पुरानो भवन, जनशक्तिको अभाव लगायतका कारणले भेरी अस्पतालको सेवा प्रवाहमा समस्या भैरहेको छ । बिरामीको बढ्दो चापलाई ध्यानमा राखेर भेरी अस्पतालमा नयाँ पूर्वाधार निर्माणका साथै जनशक्ति थप गर्नुपर्ने आवाज अहिले उठिरहेको छ ।
हेल्थइरा । २०८१, २९ जेष्ठ मंगलवार