नेपालगञ्ज : मुलुककै पुरानो अस्पताल नेपालगञ्जको भेरी अस्पतालले शनिबार आफ्नो स्थापनाको १३४ औ वार्षिक उत्सव मनाएको छ । १९४७ साल साउन १२ गते पृथ्वी– विर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सुरु भएको अस्पताल हाल २७० शैया सञ्चालनमा रहेको छ ।
१९४७ साल साउन १२ गते पृथ्वी– विर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सुरु भएको नेपालगञ्जको भेरी अस्पतालले शनिबार आफ्नो स्थापनाको १३४औ वार्षिक उत्सव मनाउदै गर्दा यसको विकास र सेवा प्रवाह प्रति सबैले चिन्ता र चासो व्यक्त गरेका छन् ।
विभिन्न आरोह अवरोहका बाबजुद सिमित स्रोत र साधनको प्रयोग गरी अस्पताल २७० शैया सञ्चालनमा ल्याई सामान्यदेखि विशिष्ठकृत सेवा सञ्चालन गरी सेवा प्रवाह गरिएको अस्पतालका निमित्त मेसु डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
उनले अत्याधिक सेवाग्राहीको चाप र अस्पतालको जनशक्ति न्यून हुँदा पनि गुणस्तरिय स्वास्थ्य सेवा दिन आफुहरु दिन रात नभनी लागेको उल्लेख गरे । उनले भने–‘ विरामीको चाप थेगी नसक्नु छ । तै पनि विभिन्न खालका अवरोधका कारण पनि विरामीलाई सेवा प्रवाह गरेकै छौ ।’
उनले झण्डै ४० वर्ष अघिको दरबन्दी संरचनाले अव अस्पताल सञ्चालन हुन नसक्ने बताउदै बढ्दो जनासंख्याको चाप अनुसारको अस्पतालको दरबन्दी बढाउन पर्ने बताए ।
अत्यिाधिक विरामीको चाप, जिर्ण र पुरानो भवन, २०४३ सालको स्वीकृत दरवन्दीको जनशक्तिबाट विशिष्ठकृत सेवा प्रवाह गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाह बताउछन् ।
उनले भने–‘ हामीले अस्पताल विकास समितिबाट जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि सक्दो प्रयासरत छौ । पुरानो जिर्ण भवन छ,जनशक्ति न्युन छ । तर, पनि जनतालाई स्वास्थ्य सेवा दिन हरदम तयार छौ ।’
उनले राज्यले लामो ईतिहास बोकेको मुलुककै पुरानो अस्पतालको विकासमा चासो नदिनु अत्यन्त दुर्भग्य भएको जिकीर गरे ।
पश्चिम नेपालको दुरदराजका जनताको उपचारको केन्द्रको रुपमा रहेको अस्पतालको विकासको लागि आफुले राजनीतिक तथा कुटनीतिक पहल गरी विकास गर्नको लागि पहल गर्ने बाँके निर्वाचन क्षेत्र नं. ३ का संसद किशाोर सिंह राठोरले प्रतिबद्धता जनाए ।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, नेपाली काँग्रेस उपसभापति गोपाल अधिकारीलगायतले अस्पतालको विकासको लागि आ–आफ्नो प्रतिबद्धता जनाएका थिए ।
मुलुककै सबैभन्दा पुरानो अस्पताल नेपालगञ्जको भेरी अस्पतालमा दैनिक ओपिडमा सरदर १ हजार १ सय देखि १ हजार २ सयले सेवा लिने गरेको भए पनि यसको भौतिक पूर्वाधार र जनशक्ति थप गरी विशिष्ठकृत अस्पतालको रुपमा विकास गर्न आवश्यक छ ।
हेल्थइरा । २०८१, १२ श्रावण शनिबार