सरोज ढुङ्गेल / काठमाडौँ : सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १ सय ३३ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था भएपनि स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधि पाउन निकै मुस्किल छ ।
सरकारी अस्पतालका फार्मेसीमा औषधि नपाउँदा धेरै प्रकारका औषधि बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन ।
केही समयअघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा सात सयको औषधि स्वास्थ्य बिमामार्फत प्राप्त भए पनि १० हजारको औषधि बाहिरबाट ल्याउनु परेको थियो । उनले स्वास्थ्य बिमा नाम मात्रको रहेको गुनासो गर्दै भने–‘बिमामार्फत उपचार गर्दा सबै औषधि बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बिमा गरेको छ भन्ने अर्थ भएन ।’
वीर अस्पतालको फार्मेसीमा कार्यरत एक फर्मासिस्टका अनुसार वीरको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि पाउन मुस्किल छ । केही समयअघि टेन्डर गरिएको थियो । टेन्डर गरे पनि पूरा औषधि आउन सकेको छैन । उनले वीरमा औषधी ल्याउन व्यापारी पनि डराएको बताए । व्यापारीले सामानको पैसा नपाएपछि औषधि ल्याउन छाडेको उनको भनाइ छ ।
वीर अस्पतालका प्रवक्ता मोहन कोइरालाले स्वास्थ्य बिमामार्फत निःशुल्क दिनुपर्ने कतिपय औषधि नपाएको हुन सक्ने बताए । उनले औषधि खरिदका लागि टेन्डरको प्रव्रिmयामा रहेकाले समस्या भएको बताए ।
प्रवक्ता कोइरालाले भन्छन–‘सरकारी अस्पतालमा औषधि खरिदका लागि प्रक्रिया पु–याउनै समस्या भएकाले ढिलाइ हुन सक्छ, अब टेन्डर भएपछि सहज हुन्छ ।’ वीर अस्पतालमा औषधि खरिदका लागि टेन्डर प्रव्रिmया अगाडि बढिसकेको उनको भनाइ छ ।
स्वास्थ्य बिमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले स्वास्थ्य बिमामार्फत एक हजार १ सय ३३ किसिमका औषधि स्वास्थ्य बिमा बोर्डले सूचीकृत गरेकाले ती औषधि स्वास्थ्य बिमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताईन । कँडेलले भनिन–‘आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधि नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधि पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधि पाइन्छ ।’
भक्तपुर क्यान्सर अस्पतालमा पनि स्वास्थ्य बिमाले सूचीकृत गरेका सबै औषधि पाइँदैनन । अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरसम्बन्धी औषधी पाइने जानकारी दिए । उनले जनरल औषधि भने नपाउने गरेको बताए । व्यापारीलाई पहिलेकै पेमेन्ट गर्नुपर्ने भएकाले औषधि नपाएको हुन सक्ने उनकोे भनाइ छ ।
स्वास्थ्य बिमा बोर्डले आगामी भदौ महिनादेखि एक हजार १ सय ३३ बाट बढाएर एक हजार २ सय ९० प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरेको छ । सूचना अधिकृत कँडेलले कोही बिमितले औषधि नपाएको गुनासो लिएर बिमा बोर्डमा आएमा त्यस्ता अस्पतालमा अनुगमन गरेर सम्झौता नै रद्द गर्न सकिने बताईन । कँडेलले वीर अस्पताल, शिक्षण अस्पताल जस्ता ठुला अस्पतालमा औषधि नपाएमा बोर्डमा आएर गुनासो गर्न आग्रह गरिन । गोरखापत्र अनलाईनबाट
हेल्थइरा । २०८१, ५ श्रावण शनिबार