नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए । उनका अनुसार अबदेखि भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा नियमित प्रदान गरिनेछ ।
सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोलीले ४२ बर्षिय पुरुषमा उनकै श्रीमतिको मिर्गौला प्रत्यारोपण गरी सेवा सुरु भएको हो ।
भेरी अस्पतालकै यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोली समेत यसमा शल्यक्रियामा संलग्न छन् ।
सुचना अधिकारी डा. रिसालका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने छ । उनले भने– ‘नियमित रुपमा यो सेवा दिने भनेर नै आजबाट सुरु गरिएको हो । यद्यपी यसका लागि काठमाण्डौबाट आउने चिकित्सकको समुह भने फरक–फरक हुनसक्छ ।’
अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।
हेल्थइरा । २०८२, ९ बैशाख मंगलवार