लक्ष्मी तिमिल्सेना / डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरिमिनियामा आयोजना गरिएको एकीकृत स्वास्थ्य शिविरमा ३ सय ५७ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।
डुडुवा गाउँपालिकाको आयोजना, एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को सोच परियोजनाको सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग, परिवार नियोजन, यौन तथा प्रजनन, महिलाको पाठेघर तथा चेकजाँच गरिएको थियो ।
विशेषगरी डुडुवा गाउँपालिकाको वडा नम्बर ६ का स्थानीयलाई लक्षित गरी शिविर आयोजना गरिएको भए पनि शिविरमा डुडुवाका अन्य वडा र नेपालगञ्जका बिरामीले पनि स्वास्थ्य सेवा लिएको बि ग्रुप एड्भोकेसी अफिसर सुमित्रा गिरिले जानकारी दिइन् । गिरिका अनुसार महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, प्रजनन्को अवस्थालगायतका जानकारी लिन शिविर आयोजना गरिएको हो ।
शिविरमा ८० प्रतिशत भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो । जसमा धेरैजसो महिलाहरुको यौन तथा प्रजनन् क्षमताको चेकजाँच गरिएको गिरिले बताइन् ।
सो शिविरमा ५१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएकोमा ४ जनामा क्यान्सर पोजेटिभ देखिएकोले भेरी अस्पतालमा रिफर गरिएको, एक जना पाठेघरमा मासु पलाएको, एकजना पिआइडी लगायतका केसहरु देखिएको बिग्रुपले जनाएको छ ।
शिविरमा सामान्य समस्या देखिएका धेरैजसो महिलाई औषधि उपलब्ध गराइएको छ भने । बाँकी कसैमा पनि क्यान्सरको लक्षण नदेखिएको गिरिले जानकारी दिइन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद्बहादुर शाही नेपालीहरुमा नियमित स्वास्थ्य चेकजाँच गर्ने परम्परा नभएको र मधेसी समुदायमा स्वास्थ्यसम्बन्धी चेतना कम भएका कारण हिरिमिनाया स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको बताए ।
हेल्थइरा । २०८१, ११ मंसिर मंगलवार