नेपालगञ्ज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पतालका ६ जना वरिष्ठ चिकित्सकहरुलाई सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
भेरी अस्पतालमा आउने वर्षदेखि ‘पिजी’ कार्यक्रम संचालन गर्ने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको जनाईएको छ ।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे र मेडिसिन बिभागमै कार्यरत डा. विकाश नेपाललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सह प्राध्यापकको जिम्मेवारी दिएको हो ।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरीकै अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा. तिर्थेन्द्र खड्का र डा प्रकाश थापाले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । डा. खड्का अर्थोपेडिक विभाग प्रमुख हुन भने डा. थापा अस्पतालका पूर्व मेसु हुन ।
भेरी अस्पतालको अब्स गाईनो विभागमा कार्यरत डा. किर्तीपाल सुवेदी र रेडियोलोजी विभागका डा विश्वनाथ शर्माले समेत सो जिममेवारी पाएका छन् । भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई उनीहरुले गाइड गर्नेछन् ।
हेल्थइरा । २०८१, ९ मंसिर आईतवार