गेरुवा (बर्दिया) : बर्दियाको गेरुवा गाउँपालिका अन्तर्गत मनाउ आयुर्वेद औषधालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित गाउँपालिकाका सबै वडाहरुमा स्वस्थ जीवनशैली कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गेरुवा गाउँपालिका का ६ वटै वडाहरुमा रहेका समुदाय अगुवाहरु, बड्घहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षकहरु, जनप्रतिनिधिहरु, कार्यपालिकाका सदस्यहरु लगायतलाई नसर्ने रोग व्यवस्थापन सो कार्यक्रम आयोजना गरिएको हो ।
औषधालयका प्रमुख डा. शिवराज सुवेदीले पछिल्लो समय समाजमा बड्दोक्रममा रहेको तथा अल्पायुमा मृत्यूको प्रमुख जोखिममा पुराउने मुटु तथा रक्तनली जन्य रोगहरु, सुगर सम्बन्धी रोग, क्यान्सर तथा पूरानो श्वास प्रश्वास रोग जस्तै दम आदि रोगहरुको प्रकोप, कारण, लक्षण तथा यी रोगहरुबाट बच्नको लागि गरिने क्रियाकलाप, खानपान, आहार विहार, स्वस्थ्य जीवनशैली यापन गर्दा अपनाउनु पर्ने कुराहरुका बारेमा जानकारी गराईएको बताए ।
यसैगरी सो कार्यक्रममा समाजमा रहेको अखाद्य वस्तुहरुले हाम्रो स्वास्थ्यमा प्रभाब पार्ने कुराहरु दैनिक जीवनशैली यापनमा योगभ्यास, ध्यान, व्यायम, प्रणायाम तथा त्यसको स्वस्थ जीवनशैलीमा महत्व तथा योगमा यम (अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह) र नियम (सौच, सन्तोष, तप,स्वाद्याय र ईश्वर प्रणिधान) को महत्व बारेमा र आयुर्वेद स्वास्थ्य केन्द्र वा औषधालयबाट हुने सेवा प्रवाहका बारेमा जानकारी गराईएको थियो ।
उनले औषधालयबाट दैनिक ओपिडी सेवा, पूर्वकर्म∕पञ्चकर्म सेवा, जेष्ठनागरिकलाई उपलब्ध हुने सेवाहरु, स्तनपायी आमालाई दुग्धबर्धक औषधि शतावरी चूर्ण, दशमूल तेल, ज्वानो चूर्ण वितरण सम्बन्धी जानकारी तथा त्यसको महत्व तथा गाउँघर क्लिनिक संचालन हुँदा हुने सेवाहरुको बारेमा आम जनसमुदायलाई जानकारी गराईएको बताए ।
उक्त स्वस्थ जीवनशैली कार्यक्रममा प्रत्येक वडाका वडाध्यक्षहरुको सभापतित्वमा भएको कार्यक्रम वडानं. १ मा कर्मप्रसाद चौधरी, २ नं. मा कृष्ण थारु, ३ नं. मा कार्यबाहक अध्यक्ष जमान सिंह कडायत, ४ नं. मा महेन्द्रप्रसाद चौधरी, ५ नं. मा धर्मप्रकाश चौधरी र ६ नं. मा कृष्ण गोपाल चौधरीको अध्यक्षता भएको थियो भन्ने प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, विशिष्ट अतिथिमा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, आर्थिक शाखा प्रमुख सुदिप सिग्देल, स्वस्थ्य शाखा प्रमुख नारायणप्रसाद भण्डारी, अन्य शाखा प्रमुखहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले स्वस्थ्य जीवनशैली, नसर्ने रोग व्यवस्थापन र आयुर्वेद सेवा प्रवाहको बारेमा आ–आफ्नो भनाई राखेका थिए । सो कार्यक्रमको सहजीकरण, डा. प्रतिभा शर्मा, डा. यकराज भण्डारी, डा. शिवराज सुवेदी, डा. सन्देश अधिकारी तथा यम बहादुर थारु र सुनिल पौडेलले गरेका थिए ।
यो कार्यक्रममा गेरुवा गाउँपालिकाका विभिन्न वडाहरुका २ सय १४ जना स्वस्थ जीवनशैलीका बारेमा प्रशिक्षित भएका थिए भने ३ सय ५३ जनालाई, उच्च रक्तचाप, मधुमेह र बिएमआई तथा स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सम्बन्धी जनचेतना दिएको थियो ।
हेल्थइरा । २०८२, १६ बैशाख मंगलवार