डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले बाढी र डुबानका कारण पीडितको उपचारका लागि गाउँपालिकाले पाँच शैयाको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले राप्ती नदी तटीय क्षेत्रमा वर्षेनी आउने बाढी र डुबानका कारण झाडापखाला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङक्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएकाले उपचारका लागि सो अस्पताल निर्माण गरिएको बताए ।
उनले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायकाले नेपालगञ्जका ठुला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएकाले उनीहरूको निःशुल्क औषधोपचार गर्न अस्पताल निर्माण गरेर उपचारको व्यवस्था गर्न थालिएको बताए ।
अध्यक्ष चौधरीका अनुसार डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउँपालिकाका अधिकांश बस्ती जलमग्न हुने गर्छन् । तीनतिरबाट नदीले घेरिएको पूर्वको बस्ती चौफेरीका बासिन्दालाई त विपत्को बेला ज्यान जोगाउनै कठिन हुन्छ ।
डुबानका बेला धेरै जसो बिरामी भएर थला पर्ने तर औषधोपचार गर्न सहरबजार जानसमेत नसक्ने हुँदा त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटीय क्षेत्रमै उपचार गर्न बाढी आउनुअघि नै डुडुवा गाउँपालिकाले बेतहनीमा अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।
हेल्थइरा । २०८२, १९ असार बिहीबार