स्वास्थ्य मन्त्री पौडेलद्वारा सिकलसेलका विरामीका लागि निशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता

नेपालगञ्ज :  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीका लागि भेरी अस्पताल नेपालगञ्जको नवनिर्मित भवनमा होमोग्लोप्याथी वार्ड र अपरेसन थियटरको सोमवार उद्घाटन गरेका छन् ।

उनले सो उद्घाटन सभालाई सम्बोधन गर्दै सिकलसेल एनिमियाँका विरामीका लागि उपचारमा आवश्यक पर्ने औषधि सरकारले निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाए । यस अघि सरकारले सिकलसेलका विरामीलाई जीवनकाल भर उपचारको लागि १ लाख रुपैयाँ उपलब्ध गराउदै आएको थियो ।

सरकारसंग सिकलसेलका विरामीले औषधि उपचारको लागि थप व्यलस्थाको माग गर्दै आएकोमा राज्यले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने गरी सरकार लागि परेको कुरामा जोड दिदै मन्त्री पौडेलले भने–‘आफै भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको थिए । भारतीय समकक्षी यस विषयमा सकारात्मक रहेको र प्रक्रियागत हिसावले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ ।’

उनले सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड संचालनमा रहेका अस्पतालहरुलाई सरकारले उपलब्ध गराउने र त्यहीबाट बिरामीहरुले सहज तरिकाले औषधि प्राप्त गर्ने बताए । यसैगरी प्रादेशिक अस्पतालहरुमा सिकलसेलका बिरामीलाई लक्षित गरी डे केयर वार्ड संचालनका लागि सरकारले काम गरिरहेको उनले जानकारी दिए ।

मन्त्री पौडेलले छिट्टै बर्दिया अस्पताल, कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा पनि सिकलसेलका बिरामीलाई लक्षित गरेर डे केयर वार्ड संचालन गरिने पनि मन्त्रालयको योजना सुनाए ।

उनले सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मने वित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि विश्वास दिलाए । अहिलेसम्म उपचारात्मक क्षेत्रलाई मात्रै प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्दै उनले अव निरोधात्मक कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिएको उनले बताए ।

उनले भने–‘रोग लागेपछि त्यसको उपचार गर्ने सरकारको दायित्व त छदै छ । अव रोग लाग्नै नदिने गरी सचेतनाका कार्यक्रमहरुलाई पनि सरकारले जोड दिन्छ ।’

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौतिका बारेमा प्रस्तुती गर्दै अस्पतालमा माग अनुसार जनशक्ति अभाव रहेको, विग्रिएको सिटीस्क्यान मेसिन तत्काल मर्मत गर्नु पने, अस्पतालको स्तरोन्नती गर्नु पर्ने जस्ता समस्याहरु रहेको र त्यसको समाधानको लागि मन्त्री पौडेल र मन्त्रालयको ध्यानआकर्षण गराएका थिए ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरुका बारेमा प्रस्तुती गर्दै उनले सिकलसेल र थालसेमियाका रोगीको उपचारको लागि विमामा औषधि उपलब्धता गराउनु पर्ने र राज्यले नै उनीहरुको विमा गराई दिनु पर्ने बताए ।

सिकलसेल प्रभावित दिपक चौधरी तथा सिकलसेल सोसाईटीका अध्यक्ष प्रभुराम थारुले पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनिमिया र थालसेमिया जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । यसको निदानको लागि विबाह गर्दा ध्यान दिनु पर्ने र गर्भावस्थामै भ्रुणमा यो समस्या भए नभएको परिक्षण गर्ने व्यवस्था मिलाउन पर्ने सुझाव दिए ।

अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले स्वागत, सदस्य डा. डक्टप्रसाद धितालले सहजिकरण गरेको र अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्रीहरु अमरसिंह पुन, डा. गोपाल दहित, प्रतिनिधिसभा सदस्य आशा विक, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डे लगायत अस्पतालका पूर्वमेसुहरु पूर्वअध्यक्षहरु, प्रमुख कन्सल्टेन्ट चिकित्सकहरु, वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरु, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया