लक्ष्मी तिमिल्सेना /नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको विरामी भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ती बिरामीमा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएपछि पालिकाले सबै वडामा स्वास्थ्यकर्मी खटाई इन्सेफ्लाइटिसको विरामी खोज्ने सुरु गरेको नरैनापुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रप्रसाद शाहले जानकारी दिए ।
बाँकेको नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकाको भेरी अस्पतालमा उपचारको क्रममा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएसंगै पालिकाको स्वास्थ्य शाखाले जापनिज इन्सेफ्लाइटिसको चिन्ह लक्षण भएका विरामीको खोजी गरि उपचारमा ल्याउन पहल गर्ने गरी स्वास्थ्यकर्मी नै खटाईएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख शाहले विरामीले खोप लगाए नलगाएको बारेमा पनि खोजी गरिएको उल्लेख गर्दै भने–‘ भेरीमा उपचारको लागि भर्ना भएकी बालिकाले खोप लगाएका नलगाएको केश हिस्ट्री अध्ययन गर्दै छौ । अभिभावकले खोप लगाएको दाबी गर्नु भएको छ । तर, आधार प्रमाण भेटिएको छैन ।’
नरैनपुर भारतसंग जोडिएको सिमावर्ती गाउपालिका भएको र केही समय अघिसम्म बाटो नहुँदा नेपालगञ्जबाट नरैनापुर जाँदा वा आउदा भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । ‘केही भए भारतमा उपचार गरेको अभिभावक भन्छन् उनीहरुसंग आधार प्रमाण पनि हुँदैन’– उनले दुखेसो पोख्दै भने–‘ यता हामी चुपलागेर बसेको जस्तो हुन्छ ।’
उनले नरैनापुरका स्वास्थ्य संस्थामा आउनु भन्दा पनि भारत तिरै जाने र जोखिममा पर्ने भएकोले गाउपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिदा पनि उपचारको लागि नेपालगञ्ज आउन नमान्ने प्रबृत्ती बढ्दो रहेको बताए । यसैबीच भेरी अस्पताल नेपालगञ्जका निमित्त मेसु डा. प्रकाशबहादुर थापाले बाँकेमा जापनिज इन्सेफ्लाइटिसको विरामी धेरैवर्ष पछिमात्र भेटिएको बताउदै उपचारत विरामीको अवस्था सामान्य हुँदै गएको जानकारी दिए ।
उनले उपचारमा आएको विरामीको भेरिएन्ट के हो ? खोप लगाउदा लगाउदै देखा परेको हो, नयाँ भेरिएन्ट हो भन्ने विषयको खोज अनुसंन्धान हुन आवश्यक रहेको औल्याए ।
चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुने र ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने हुन्छ ।
हेल्थइरा । २०८१, २५ भाद्र मंगलवार