खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले आफ्ना नागरिकको स्वास्थ्यमा अति सम्बेदनशील भएर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । पालिकाले जेष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रम अनुसार औषधि सहित स्वास्थ्यकर्मी लाभग्राहीको घर मै पुगेर कम्तिमा पनि महिनाको एक पटक निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको खजुरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिए ।
खजुरा गाउपालिका वडानं. ५ का ७७ वर्षिय मिनबहादुर पुनमगर उच्च रक्तचाप र मृगौलाको रोगले पीडित हुन । पालिकाबाट प्रत्येक महिना घरमा औषधि सहित स्वास्थ्यकर्मी आएर स्वास्थ्य परिक्षण गर्दा आफुहरुलाई धेरै राहत भएको उनको भनाई छ । ‘औषधि सबै नपाए पनि आफ्नो स्वास्थ्य अवस्था घरमै बसेर जान्ने मौका पाएका छौ । यो भन्दा अरु हामीलाई के चाहियो’– अनुहारमा चमक ल्याउदै उनले भने ।
खजुरा–५ कै ७६ वर्षिया अमृता पुन मगर आफु खुट्टामा समस्या भएर हिडडुल गर्न नसक्ने अवस्थामा रहेको वेलामा घरमै स्वास्थ्यकर्मी आएर निशुल्क स्वास्थ्य सेवा दिदा आफुलाई अत्यन्त सहज भएको बताईन ।
उनले भनिन–‘ आफुलाई हिडडुल गर्न समस्या छ । विरामी परे गाडिमै बोकेर जानुपर्ने बाध्यता छ । यस्तो बेलामा पालिकाले अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम ल्याएर घरमै स्वास्थ्य जाँच गर्ने कार्यक्रम ल्याएर ठूलो गुण लगाउनु भएको छ ।’
यसैगरी अर्का लाभग्राही ७६ वर्षिय कृष्णबहादुर देवकोटाले प्रत्येक महिना स्वास्थ्य जाँच सहित घरमै औषधि निशुल्क पाएकोले आफ्नो बचत भएको बताए । उनले खजुरा गाउपालिकाले सञ्चालन गरेको अध्यक्ष संग जेष्ठनागरिक कार्यक्रमले आफुहरु जस्ताको स्वास्थ्य समस्या समाधान गरेको दाबी गरे ।
कृष्णबहादुर कै धर्मपत्नी ७० नेत्रकुमारी देवकोटाले आफु ग्याटिक, प्रेशर र सुगरको विरामी भएको बताउदै हरेक महिना नियमित जाँच हुँदा आफु निरोगी भएको महशुस हुने बताईन ।
खजुरा–३ का ७० वर्षिय लालबहादुर सुनार ( जेष्ठ नागरिक ) र उनका २८ वर्षिय छोरा लालजित सुनार अशक्त छन् । दुबैले पालिकाबाट खटाएको स्वास्थ्यकर्मीबाट हरेक महिना निशुल्क स्वास्थ्य सेवा लिददै आएको बताए । लालबहादुरले सेवालाई अझ थप बृद्धि गरी बिमार अनुसारको सबै औषधि पाउने बाताबरण मिलाउन आग्रह गरे ।
यसैगरी खजुरा–३ का ५१ वर्षिय बालकृष्ण सुवेदी शाररिक अशक्त छन् । उनले पनि पालिकाले उपलब्ध गराएको स्वास्थ्य सेवा पाएको बताउदै जाँच र औषधिको दायरा बढाउन माग गरे । उनले आफुलाई आवश्यक पर्ने औषधि पनि पालिकाले उपलब्ध गराउने सेवामा राख्न अनुरोध गरे ।
अध्यक्षसंग जेष्ठनागरिक कार्यक्रमका लागि खजुरा गाउपालिकाले ८ वटै वडामा एकएक जना स्वास्थ्यकर्मी नियुक्त गरी सेवा प्रवाह गर्दै आएका छ । ति मध्येका एक हुन मनोज पुनमगर । उनले आफु सेवाप्रवाहको लागि सेवाग्राहीको घरमा पुग्दा अधिकांशमा उच्च रक्तचाप, डायबिटिज, हातखुट्टा दुख्ने, हिडडुल गर्न कठिन हुनेलगायतको समस्याले ग्रशित भएको पाएको बताए ।
खजुरा गाउपालिकाको ३ नं वडामा खटिएकी स्वास्थ्यकर्मी रचना सुनारले आफु सेवा प्रवाह गर्न जाँदा जेष्ठ नागरिक र अशक्त दुबैले खुशी व्यक्त गर्ने गरेको बताउदै अधिकांशमा उच्च रक्तचाप, सुगर, जोर्नी दुख्ने जस्ता समस्या रहेको र केहीले त पहिलो पटक प्रेशर जाँच गरेकोसम्म प्रतिक्रिया दिने गरेको बताए ।
स्वस्थ नागरिक रहे पालिका आफै सम्बृद्ध हुन्छ भन्ने सोचका साथ खजुरा गाउपालिकाले आफ्ना नागरिकका लागि स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको पालिका स्वास्थ्य शाखा प्रमुख ढकाल बताउछन ।
उनले हरेक महिन ६८ वर्ष माथिका जेष्ठ नागरिक र जुनसुकै उमेर समुहका अशक्तलाई स्वास्थ्य सेवा दिने उदेश्यले अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्र सञ्चालन गरीएको बताउदै आगामी वर्षमा स्थानीय तहले सञ्चालन गरेको स्वास्थ्य शाखाबाट निशुल्क प्रयोगशाला, औषधि समेत गरेर करिव २ हजार ६ सयलाई सेवा दिएको जानकारी दिए ।
खजुरा गाउपालिकाक अध्यक्ष डम्बर विक तुफानले अशक्त जेष्ठ नगारिक स्वास्थ्य संस्था पुगेर सेवा लिन कठिन भएको जनगुनासो आएपछि नागरिकको स्वास्थ्य सुनिश्चित गर्न अध्यक्षसंग जेष्ठनागरिक कार्यक्रम लागूगरिएको बताए । उनले पालिकाले औषधि खरिदलाई समेत प्राथमिकतामा राखेर नागरिकको स्वास्थ्य प्रति पालिका सचेत भएको बताए ।
उसो त लुम्बिनी प्रदेश सरकारले पनि जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको भए पनि निश्चित उमेर समुहलाई मात्र समेट्ने भएको पालिकाले ६८ वर्ष उमेर समुहका जेष्ठ नागरिक र जुनसुकै उमेरका अशक्तलाई लक्षित गरी २० लाख विनियोजन गरी २ हजार ६ सय १८ जनाले सेवा लिएको पालिकाले जनाएको छ ।
हेल्थइरा । २०८१, २ जेष्ठ बुधबार