लुम्बिनीको स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसंग सहकार्य गर्छौ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसंग सहकार्य गर्ने योजना बनाएको बताएका छन् ।

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने बताएका हुन ।

‘नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्न तयार छ’–उनले भने–‘समुदायलाई निरोगी बनाउनु छ, नसर्ने रोगको समस्या बढ्दो छ । निरोगी बन्न हाम्रो जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।’

उनले स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने कुरामा जोड दिए । लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि सामुदाय संग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।

लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको लागि लगानी बढाएको, देशकै ठूलो अस्पताल निर्माणको काम सुरु भएको जानकारी दिदै निरोगी प्रदेशबासी बनाउने अभियानमा सरकार रहेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए । नसर्ने रोगबाट मानिसहरु धेरै पीडित हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गरे ।

अस्पतालका निर्देशक बरिष्ट मुटुरोग विशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गरेको कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमी नगरपालिकाका प्रमुख केशवु श्रेष्ठ, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौला रोग बिशेषज्ञ डा.रजत कायस्थ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया