नेपालगञ्ज : डेंगुको सङ्क्रमण बर्सेनि बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा बर्सेनि डेंगु सङ्क्रमण बढिरहेको उनीहरूको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम सङ्क्रमित फेला परेका छन् । तर सङ्क्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगु प्रस्तुत भइरहेको बताए । उनले आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने बताए । उनले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताउदै काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएको जानकारी दिए ।
गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका केसहरूमध्ये ५० प्रतिशत केस फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा सङ्क्रमण भएको सरकारको तथ्याङ्क छ ।
कुराकानीमा उनले कोभिड सकिएपछि डेंगु झनै घातक भएर आएको र आगामी वर्षहरूमा महामारीको रूप लिन सक्ने चेतावनी दिए । डेंगुले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उनको छ ।
आगामी वर्षहरू हाम्रा लागि चुनौतीपूर्ण छन्
विगतको तथ्याङ्कलाई आधार मान्ने हो भने डेंगुको सङ्क्रमण दर बर्सेनि बढ्दो छ । बर्सेनि प्रकोप सँगसँगै यसले सङ्क्रमितको सङ्ख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ । सीमित ठाउँमा पहिला देखिने गरेको डेंगु अहिले हरेक ठाउँमा गइरहेको छ ।
पछिल्लो समय तनहुँमा जुन आउट ब्रेक भयो भनिएको छ, यसले पनि के सङ्केत गरेको छ भन्दा नेपालको कुनै पनि ठाउँमा एडिस प्रजातिको लामखुट्टेले सहज तरिकाले जीवन चक्र चलाइरहेको ठाउँ रहेछ भने आगामी वर्ष कुनै पनि समयमा त्यहाँ ठुलो सङ्ख्यामा महामारी निम्त्याउन सक्छ भन्ने सङ्केत अहिले तनहुँको आउट ब्रेकले देखाइरहेको छ ।
कोभिड सकिने बित्तिकै डेंगु झन् घातक रूपमा प्रस्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगु प्रस्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरू हाम्रा लागि चुनौतीका वर्षहरू छन् ।
संवेदनशील मानिसहरू सङ्क्रमणमा परेका छन्,डेंगु नियन्त्रणमा लागौँ
डेंगुको सङ्क्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ । त्यस मानेमा संवेदनशील मानिसहरू सङ्क्रमणमा बढी परिरहेका छन् । ज्येष्ठ नागरिक, दीर्घरोगीहरु संवेदनशील समूहमा पर्दछन् । सङ्क्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक स्वरूपमा प्रस्तुत भइरहेको अवस्था छ । डेंगु आगामी दिनमा घातक महामारीको रूपमा आउने अवस्था देखिन्छ । अहिलेदेखि नै हामीले डेंगु नियन्त्रणमा लाग्नुपर्छ । क्याम्पेनहरु गर्नुपर्छ । तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन ।
डेंगुलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन्
कतै न कतैबाट प्रचारप्रसार भई नै रहेको छ । तर गम्भीरताका साथ हामी सर्वसाधारणले नलिएको हो की भन्ने मेरो बुझाइ छ । कति बेला लिने ? अहिले नलिए कहिले लिने ? यो प्रश्न छ । प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रूपमा अघि बढाउनुपर्छ । जति गरे पनि भएन भन्ने नभई अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ ।
आक्रामक प्रचारप्रसार गरौँ
पछिल्लो समय सर्वसाधारणले डेंगु संक्रमणलाई खासै वास्ता गरेको देखिएन । शुन्य मृत्युदरको लक्ष्य हामीले राख्नुपर्छ । सङ्क्रमण नै नहुनका लागि सम्भवतः सर्वसाधारणको तर्फबाट पनि चासो नदिएको अवस्था र सरकारबाट पनि आक्रामक प्रचारप्रसारका लागि ध्यान नदिएको अवस्था छ । यो रोग फैल्याउनेलाई कसरी टार्गेट गरेर नष्ट गर्ने, लामखुट्टेको लार्भालाई ? भन्नेकुरामा सर्वसाधारणले त्यति चासो दिएको छैन । यस्ता रोगहरु फैलिनुको एउटा मुख्य कारण छिटो बेवास्ता गर्नु पनि हो ।
डेंगुबाट विश्व नै प्रभावित हुँदै छ
डेंगुबाट नेपाल मात्रै नभई विश्व नै प्रभावित हुनेवाला छ । नेपालले चाह्यो भने रोल मोडलको रूपमा काम गर्न सक्छ की भन्ने मेरो एउटा सोच थियो । हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ । डेंगुबारे हेलचेक्राँई छ । तर तारनतार बान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ । थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस् । त्यो डेंगीको चेतावनी हो । एनटिभि अनलाइनबाट
हेल्थइरा । २०८१, २२ कार्तिक बिहीबार