खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका–५ बसन्तापुर ऐलानीका एकै परिवारका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको छ ।
झाडाबान्ताको कारण ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो । बिहान ८ बजे तिर सबै परिवारले पुरी तरकारी खाए लगत्तै उनीहरुलाई झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए ।
उनले भने–‘ सबैले पुरीसंग पिडालुको तरकारी र साग खानु भएको रहेछ । खाएको केही बेरमै झाडाबान्ता सुरु भएको हो ।’
झाडाबान्ताको समस्या भएका परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि पठाईएको भए पनि उनीहरु घरको परिवारका सदस्यको मृत्युको जानकारी पाएपछि अस्पतालको गेटबाटै मृत्युसंस्कारमा सामेल भएर उपचारमा आउने भन्दै घर फर्केको अस्पताल स्रोतले जनायो । उनीहलाई खजुरामा सामान्य उपचारपछि उनीहरुलाई भेरीमा रिफर गरिएको थिय ।
मृतक सहित गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने आशंका गरिएको छ । झालाबान्ताबाट गम्भीर बनेका अहिरको बिहान ९ बजे मृत्यु भएको उनले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मी थापाले जानकारी दिए ।
उनले भने–‘ घरपरिवारको सदस्यको मृत्यु भएको जानकारी पछि उपचार नै नगराई घरफर्केको जानकारी पाएका छौ हामी स्वास्थ्यकर्मीको टोली पुनः विरामीको घरमा जाने तयारी गरेका छौ ।’
हेल्थइरा । २०८१, १९ कार्तिक सोमबार