नेपालगञ्ज : योग समिति नेपाल सातौ वर्षमा प्रवेश गरेको अवसरमा नेपालगञ्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ ।
नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी डा धबल शंम्सेर राणाले योग सबैका लागि जरुरी रहेको कुरामा जोड दिदै स्वस्थ्य रहन हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखे ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहनेगरी स्थापना भएको योग समिति नेपालले योगको सन्देश फैलाउन निरन्तर सक्रिय रहेको भन्दै त्यसका लागि समितिलाई उनले धन्यवाद दिएका थिए ।
सो अवसरमा उनले आफ्नो १ महिनाको तलब योग समिति नेपालको भवन निर्माण गर्दा दिने घोषणा गरे । योग समिति नेपाललाई नेपालगञ्जबासीलाई नियमित योग गराई स्वस्थमय राख्न अनुरोध गरे ।
योग समिति नेपालका अध्यक्ष एवं आयुर्वेदाचार्य योग गुरू गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासनकार्यालयका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष डा रूपानन्द अधिकारी, डा बिनोद थापा, डा कल्पना थापा, डा उषा शाह समितिका सल्लाहकार नन्दलाल बैश्य, जगदिस चन्द्र तिमल्सिना, समितिका पदाधिकारी, कार्यसमिति सदस्य विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक , योगिमनहरू लगायत समाजसेवी, वुद्विजिवी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
स्वागत नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको छ ।
डा बिनोद थापाले बोल्दै योग आफुले गरे मात्रै फाइदा हुने स्वयम् आफु नै यसको उदाहरण भएको बताउदै विहान सुतेर जाने समयलाई सदुपयोग गर्ने सबैमा अनुरोध गर्दै आफुले योग समिति नेपालको भवन निर्माणमा एक लाख दस हजार सहयोग गर्ने घोषणा गरे ।
त्यस्तै योग समिति नेपालकी योग प्रशिक्षक शकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमीत्रा)ले जानकारी दिइन् ।
कार्यक्रम संन्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको छ । समितिले गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको ’प्रेरक’ समिति बनेको सर्वसाधारण बताउँछन् ।
हेल्थइरा । २०८२, १२ जेष्ठ आईतवार