भेरी अस्पतालमा प्रशासनको आकस्मिक अनुगमन

नेपालगञ्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जको सेवा प्रवाहको अवस्थाको बारेमा सरोकारवालासहितको टोली आकस्मिक रुपमा अनुगमन गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा नागरिक समाजका अगुवा, उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधि, सञ्चारकर्मी सहितको टोलीले भेरी अस्पताल नेपालगञ्जको आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा नियमति हाजिर अभिलेख रजिष्टरमा हाजिर व्यवस्थित नभएको, विदा नजनाएको र कार्यालय समयमा केही कर्मचारी उपस्थिति नभएको पाईएको अनुगमन टोलीका प्रमुख समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

उनले आगामी दिनमा अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउन र कर्मचारीको कार्यालय समयमा उपस्थिति अनिबार्य गर्दै विभिन्न देखिएका त्रुटीहरुलाई अस्पताल प्रशाशनले सुधार गर्दै लैजान निर्देशन दिएको बताए ।

नेपालगञ्जको भेरी अस्पताल पश्चिम क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको हुनाले यहाँ विरामीको अत्याधिक चाप रहने गरेको छ । सिमित मात्रामा रहेको जनशक्तिले सेवा प्रवाह गर्ने गरेको हुनाले पनि सेवा प्रवाहमा ढिलासुस्ति र अवस्थित भएको हुनसक्ने भएपनि आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता अस्पतालका प्रमुख मेडिकल सुप्रेन्डेन्टेट डा. निराजन सुवेदीले जनाए ।

अनुगमन टोलीले अस्पताल प्रशासन, ईमरजेन्सी, ओपिडी लगायतको स्थानमा अनुगमन गरेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया