नेपालगञ्ज : नेपालगञ्जमा डेङ्गु तथा किटजन्य रोग सङ्क्रमणको उच्च जोखिम देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले रोकथामका लागि अभियान सुरुवात गरेको छ ।
बाँकेमा हालसम्म भेटिएका डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरकै नागरिक रहेकोले उपमहानगर क्षेत्र डेङ्गुको उच्च जोखिम देखिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनले नेपालगञ्जमा भेटिएका १ सय ९५ मध्ये ६६ जना गभ्भीर भएर अस्पताल समेत भर्ना भएर उपचार गराएको बताए ।
उनले भने–‘नेपालगञ्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिम देखिएको रोकथामका लागि डेंङ्गु फैलाउने लामखुट्टको वासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियान सुरु गरेका छौ । उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’
उनले नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको जनाउँदै उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने बताए ।
अभियान अन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, टिनका बट्टा, गमला, कुलर, एशी तथा खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने जनाईएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको बताउदै यो अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको औल्याए ।
उनले नेपालगञ्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको बताए । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरुलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे ।
डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख बिष्टले ।
सो अभियानमा वडा अध्यक्ष गोपाल पुन, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाहरु लगायतको सहभागिता रहेको थियो । डेङ्गु सार्ने लामखुट्टे घरवरीपरी जमेको सफा पानीमा बस्ने भएकोले आफ्नो घरवरीपरि प्रयोग विहिन टायर, टिन–प्लास्टिकका बट्टा, कोकका बोतल जथाभावी नफाल्न सबै नागरिकलाई अपिल समेत गरेको छ ।
हेल्थइरा । २०८१, १५ कार्तिक बिहीबार