.
नेपालगञ्ज : दैनिक जीवन यापनमा व्यस्तताको कारण हुने आफ्नो शरिरको हेरचाहको लागि समय निकाल्न नसक्नेहरुको लागि योग र ध्यान अत्यन्तै लाभदायी हुने बताईएको छ ।
‘विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति’ भन्ने मूल नाराका साथ योग समिति नेपाल र नेपाल चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा विश्व ध्यान दिवश मनाउन उपस्थित भएका सहभागीहरुले सो कुरा बताएका हुन ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष तथा बरिष्ठ हाडजोर्नी विषेशज्ञ डा. बिनोद कुमार थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले मानव जीवनमा योग र ध्यानको महत्वका बारेमा प्रवचन दिएका थिए ।
उनले दैनिक जीवनको व्यस्ततालाई एकैछिन मात्र योग र ध्यानमा परिणत गर्न सके दिन सफल हुनुको साथै निरोगी बन्न निक्कै मद्दत पुराउने कुरामा जोड दिए । योग र ध्यानले गर्दा विभिन्न खालका नसर्ने रोगहरुबाट समेत मुक्ति पाउन सकिने भएकोले दैनिक व्यस्तताबाट योग र ध्यानका लागि समय निकाल्न आग्रह गरे ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी प्रमुख तुलबहादुर कार्की, कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्द प्रसाद पाण्डेलगायतको सहभागिता रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ले जानकारी दिईन ।
हेल्थइरा । २०८१, ६ पुष शनिबार