बागलुङ दादुरा प्रभावित क्षेत्रमा गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा निरिक्षण

समाचार सारांश
Generated Using AI
  • बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा फैलिएको दादुरा संक्रमणको निरीक्षण गर्न गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक प्रभावित क्षेत्रमा पुगेका छन्।
  • संक्रमण नियन्त्रणका लागि बुर्तिवाङ अस्पतालमा थप बेड, औषधि र स्वास्थ्यकर्मी खटाइएको छ।
  • हालसम्म ६१ जनामा संक्रमण देखिएको छ भने सबै बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बागलुङ  : पश्चिम बागलुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ मा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित भएको क्षेत्रमा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्् ।

दादुरा संङ्क्रमितको उपचार चलिरहेको बुर्तिवाङ जिल्ला अस्पतालमा मन्त्री पाठकले उपचारका कुनै कमि नहुने भन्दै क्रसित नभइ बस्न बिरामी र आफन्तलाई ढाड्स दिए । मन्त्री पाठकले बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन ।

दादुरा संङ्क्रमण महामारीको रुपमा फैलिन सक्नेतर्फ सचेत हुँदै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरेर संक्रमितको खोजतलास र उपचारको तयारीमा जुट्न स्वास्थ्यकर्मीलाई मन्त्री पाठकले निर्देशन दिए । ‘तपाईंहरु सघन उपचारको तयारी थाल्नुस्, आवश्यक जनशक्ति र औषधीको व्यवस्थापन मन्त्रालयले गर्छ’ मन्त्री पाठकले भने ।

दादुरा संङ्क्रमण व्यापक बन्दै गएपछि गण्डकीको स्वास्थ्य मन्त्रालयले बुतिर्वाङ अस्पतालमा ३० वटा बेड, औषधि र आवश्यक सामग्री सोमबार नै पठाएको छ । मन्त्रालयले बिरामीको उपचारमा कमी हुन नदिन धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र पर्वत अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु बुर्तिवाङ अस्पतालमा खटाएको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिसँग छलफल गर्दै मन्त्री पाठकले बिरामीहरुको उद्धार, रोगको उपचार र नियन्त्रणमा प्रदेश सरकार सचेत र प्रतिवद्ध रहेको समेत बताए ।

ढोरपाटनको बोबाङमा देखिएको दादुरा फैलिएर बडिगाड गाउँपालिकासम्म पुगेको छ । बडिगाडका दुई जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएको छ । ढोरपाटनमा ६१ जनाभन्दा बढी बिरामी पहिचान भएका छन् । ३१ जनाको बुर्तिवाङ अस्पतालको आइसोलेसनमा उपचारपछि केही डिस्चार्ज भएको र नौ जनाको उपचार चलिरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

शर्माका अनुसार हालसम्म लक्षण देखिएकोमध्ये एक जना ९ महिने शिशु र अन्य सबै भ्याक्सिन लगाउने उमेर समूहका बालबालिका दादुराको मिल्दोजुल्दो लक्षण देखिएको छ । दादुरा संक्रमण भएपछि १० देखि १४ दिनमा बिबिरा देखिने र कसैमा संक्रमण भएको दिनदेखि १४ दिनसम्म अरुमा सार्न सक्ने भएकाले ढोरपाटन नगरका विद्यालय बन्द गरिएको छ ।

ढोरपाटनमा फैलिएको दादुरा जिल्लाको निसीखोला गाउँपालिकामा भारतबाट आएका एक जनाबाट फैलिएको जनस्वास्थ्य कार्यालयले आशंका गरेको छ । निसीखोला आएका बालक ढोरपाटन आएको र उहाँबाटै यो क्षेत्रमा फैलिएको भन्ने निचोडमा आफूहरु पुगेको शर्माले बताए ।

ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण महामारीको रुपमा देखिन थालेपछि जनस्वास्थ्य कार्यालयले त्यहाँका सबै बालबालिकालाई खोप लगाउने तयारी समेत थालेको छ । ‘ढोरपाटनका ६ हजार ७ सय १९ जना बालबालिकालाई खोप लगाईने छ’ शर्माले भने ।




फेसबुकबाट तपाईको प्रतिक्रिया