खोपबाट बचाउन सकिने रोगको पहिचान, निदान र उपचारका लागि विज्ञ चिकित्सकसंग छलफल

नेपालगञ्ज : बाँकेका विभिन्न अस्पतालहरुमा कार्यरत बालरोग विशेषज्ञ तथा फिजिसियनहरुले खोपबाट बचाउन सकिने रोगको पहिचान, निदान र उपचारका लागि आफुहरुले सकेको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत खोपबाट बचाउन सकिने रोगहरुको खोजपड्ताल, नमुना संकलन र ढुवानीलाई प्रभावकारी बनाउदै उपचारमा संलग्न हुने बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकहरुसँग गरेको छलफल कार्यक्रममा सो प्रतिबद्धता जनाईएको हो ।

लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले खोपसँग सम्बन्धित रोगहरुको पहिचान गर्नु अत्यन्तै जरुरी रहेको बताइन् । उनले त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाइन् ।

उनले भनिन–‘ खोप जीवन बचाउने माध्याम हो । यसको गुणस्तरीय उपयोगका लागि सबै चनाखो हुन आवश्यक छ । प्रदेश सरकारले खोपको गुणस्तर कायम राख्न तथा ढुवानीको लागि व्यवसथ मिलाउन तिर प्रयासरत रहेको छ ।’

उनले खोपको अवस्था थाहा हुन खोजपड्ताल अत्यन्तै महत्वपूर्ण हुने कुरामा जोड दिदै भनिन–‘ खोपको अवस्था थाहा हुन खोजपड्ताल अत्यन्तै महत्वपूर्ण हुन्छ साथै यसले रोगको पहिचान, निदान र उपचारमा पनि सहजता मिल्ने विश्वास छ ।’

भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा. निराजन सुवेदीले खोपप्रतिको अविश्वास र गलत सूचनाका कारण खोप अभियान प्रभावकारी हुन नसकेको बताए । उनले खोपबाट बचाउन सकिने रोगहरुको निवारणका लागि खोपको विकल्प नभएको बताए ।

भेरी अस्पताल कै प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले चिकित्सकहरुलाई क्लिनिकल र जनस्वास्थ्यका बारेमा ज्ञान हुन जरुरी रहेको बताए । उनले चिकित्सकहरुलाई खोप सम्वन्धि रोगका बारेमा ज्ञान हुनुपर्ने बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरणमा भेरी अस्पताल, मेडिकल कलेज र प्राइभेट सेक्टरका ८ अस्पतालका ३० जना बालरोग बिशेषज्ञ र कन्सल्टेन्ट फिजिसियन चिकित्सकहरुको सहभागितामा रहेको जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका डा. प्रस्तुति शर्माले विषयवस्तु सम्वन्धी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत खोपबाट बचाउन सकिने रोगहरुको खोजपड्ताल, नमुना संकलन र ढुवानीलाई प्रभावकारी गराउन सो छलफलले ठोस भूमिका निर्वाह गर्ने जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया