स्वास्थ्य विमा बोर्डले समयमा भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रबाहमा समस्या

लक्ष्मी तिमिल्सेना
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य विमा बोर्डले पठाउनु पर्ने भुक्तानी समयमा नपठाउदा सेवा प्रबाहमा समस्या आउने भएको छ । विमा बोर्डले स्वास्थ्य बिमाका सेवाग्रहीको उपचार सेवा प्रवाह गरे बापतको करिब साढे १८ करोड र सामाजिक सेवा ईकाईको डेढ करोड गरी २० करोड रकम भुक्तानी हुन नसक्दा सेवा प्रवाह नै प्रभावित हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

विमा मार्फत सेवा लिन आउने सेवाग्राहीले भने आफुले पाउने सुबिधामा महंगो औषधि नहुने,बाहिर किन्नु पर्ने, बिमामा सबै औषधि नपाउदा आफुहरु मर्कामा परेको गुनासो गर्नुभएको छ । डाक्टरले लेखेको सस्तो औषधि मात्र बिमाले दिने तर महंगो औषधि बाहिर किन्नुपर्ने बाध्यता हटाउन सेवाग्राहीको माग छ ।

म रुकुमबाट मिर्गौला प्रत्यारोपणकालागि नेपालगञ्ज आएका बिरामी गुनासो गर्दै भने,–‘ महँगो खालको औषधि नदिएको अवस्था छ । नेपाल सरकारले बीमा त गरिदियो तर सबै औषधि उपलब्ध गराउन सकेन । म रुकुमबाट आएको हुँ । म मिर्गौला प्रत्यारोपणको बिरामी हुँ । त्यति टाढाबाट उपचार गर्ने आशाले आउँदा औषधि नै नपाउँदा हामीलाई झन् शास्ति भएको छ । यो सम्बन्धित व्यक्ति वा संस्थाले बुझ्नुपर्ने कुरा हो ।’

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले अस्पतालले स्वास्थ्य विमा बोर्डबाट गत असार मसान्तसम्मको साढे १६ करोड र साउन महिनाको करिव १ करोड ९० लाख गरि साढे १८ करोडको हाराहारीमा भुक्तानी पाउन पर्ने बक्यौता भएको जानकारी दिए । उनले बोर्डबाट रकम आउन नसक्दा ल्याव र फार्मेसी सञ्चालन गर्न कठिन हुन थालि सकेको बताए ।

डा. सुवेदीले भने, –‘असार मसान्तसम्म साढे १६ करोड थियो । साउन महिनामा १ करोड ९० लाख गरिकन साढे १८ करोड बीमा बोर्डबाट भुक्तानी हुन बाँकी छ । भने, डेढ करोड चाहिँ विपन्न सेवा अन्तर्गत हामीलाई पैसा आउनुपर्ने हो । अहिले भेरी अस्पतालमा ६० प्रतिशतसम्म बिरामीले स्वास्थ्य बीमा अन्तर्गतको सेवा लिइरहेको अवस्था छ ।’
भेरी अस्पताल नेपालगञ्ज सञ्चालक समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले स्वास्थ्य विमाबोर्डबाट समयमा भुक्तानी आउन नसक्दा अस्पतालका धेरै सेवाहरु प्रभावित हुने अवस्थामा आएको बताए । पुरानो भुक्तानी दिननसक्दा विभिन्न सप्लायर पार्टीले समेत सामान दिन बन्द गर्ने बेला भएको उनी बताउछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया