लुम्बिनी प्रदेशमा एकवर्षमा ५० शैयाको अस्पतालदेखि आधुनिक प्रयोगशाला विस्तारसम्म

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/ ८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ ।

समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शैयाको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ । त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत’परिवार स्वास्थ्य विवरणझ कार्यक्रम सुरु गरिएको छ, जसले महिलामात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ ।

प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ । साथै, आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा ‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ । प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ ।

नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, ‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६’ स्वीकृत भई लागू गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया