बर्दियाको बाँसगढीमा स्वास्थ्य बिमा सुविधा सुरु

बाँसगढी (बर्दिया) : बर्दियाको बाँसगढी नगरअस्पतालमा स्वास्थ्य बिमा गरेका नागरिकहरूका लागि  प्रथम  सेवा विन्दु सेवा सुचारु भएको छ । बाँसगढी नगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच सहमति भएपछि सेवा सुरु भएको हो ।

सेवा सुरु भएपछि बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका नागरिकहरू सेवा लिन बाँकेको बैजनाथ गाउँपालिको प्रथामिक स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता हटेको छ । यसअघि बाँसगढी नगरवासी उपचार मात्र नभएर रेफर गर्नका लागि समेत बाँके जिल्ला धाउनु पर्ने बाध्यता थियो ।

बाँसगढी नगरपालिकामा छ हजार छ सय ३२ घरपरिवारका २० हजार पाँच सय ३४ जनाले स्वास्थ्य बिमा गरेका छन् । उनीहरू मध्ये तीन हजार दुई सय ६१ जना ज्येष्ठ नागरिक रहेका छन् । दुई हजार तीन सय ३० घरपरिवारले पूरा बिमा शुल्क तिरेर स्वास्थ्य बिमा गरेको स्वासथ्य बिमा बोर्ड बर्दियाका संयोजक डिकेन्द्रबहादुर विष्टले जानकारी दिए ।

बाँसगढी नगरपालिकाले स्वास्थ्य बिमा लागु भएको आठ वर्षपछि नगर अस्पताललाई प्रथम सेवा विन्दुमा सूचिकृत गराउन सफल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले बताए । नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर नगरअस्पताल स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको थियो । बाँसगढी नगर अस्पताल २०७७ सालमा स्थापना भएको हो ।

बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले लामो समयको प्रयासपछि स्वास्थ्य बिमा बोर्डमा नगरअस्पताललाई सूचिकृत गराउन सफल भएको बताए । ‘अब बाँसगढी नगरपालिकाका सेवाग्राही बाँकेमा सेवालिन जानुपर्ने बाध्यता हटेको छ ’ उनले भने, ‘गरिब तथा विपन्न वर्गलाई कसरी स्वास्थ्य बिमामा समेट्न सकिन्छ भन्ने विषयमा योजना बनाउँदै छौँ । छिट्टै नै त्यो काम पनि सुरु गर्ने छौँ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया