
दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जद्वारा सञ्चालित लमही आँखा अस्पतालले सञ्चालन गरेको शिविरमा ४५० जनाको आँखाको परीक्षण गरिएको हो ।
जसमा ६३ जनामा आँखाको समस्या भेटिएको थियो भने ४३ जनाको आँखाको सल्यक्रिया गरिएको बङ्गलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसीले जानकारी दिए । त्यस्तै, शिविरमा मोतीविन्दुसहितका जटिल दृष्टि समस्या पहिचान, प्रारम्भिक जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।
नेपाल सरकारको सहयोगमा आयोजना गरिएको सो शिविरमा बङ्गलाचुली गाउँपालिकाका स्थानीय वृद्ध–वृद्धासहित विभिन्न उमेरका नागरिकहरूले उल्लेखनीय रूपमा आँखा स्वास्थ्य सेवा लिएका छन् । बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षता एवं लमही आँखा अस्पतालका प्रमुख प्राध्यापक डा. प्रदीप बास्तोलाको प्रमुख आतिथ्यतामा शिविरको उदघाटन गरिएको थियो ।
कार्यक्रममा बङ्गलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा, बङ्गलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केसी, लमही आँखा अस्पतालका प्रशासन शाखा प्रमुख टेकबहादुर चौधरी, आँखा बाह्य कार्यक्रम संयोजक विमल घिमिरे लगायतको सहभागिता थियो ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले आँखाजस्तो संवेदनशील अङ्गलाई बचाउन सके सिङ्गो संसार देख्न सकिने बताए । उनले शिविर सम्पूर्ण समूदायलाई पहुँच योग्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको बताए ।
शिविरमा आएका अधिकांश सेवाग्राहीहरूले प्रदान गरिएको सेवाप्रति सन्तोष व्यक्त गर्दै नियमित रूपमा यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरेका छन् । विशेषगरी वृद्ध नागरिकका लागि आँखा उपचार अत्यन्त महत्त्वपूर्ण भएकाले निःशुल्क जाँचले ठुलो राहत मिलेको उनीहरूको प्रतिक्रिया थियो ।



हेल्थइरा । २०८२, २१ मंसिर शनिबार