नेपालगञ्जको सञ्जीवनी अस्पतालले थप गर्यो चार विशिष्टीकृत सेवा

समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जको सञ्जीवनी अस्पतालले पेट–कलेजो उपचार, न्युरो–अर्थो पुनःस्थापना केन्द्र, खोप सेवा र डेक्सा स्क्यान सहित चार नयाँ सेवा विस्तार गरेको छ।
  • अस्पतालका अनुसार यी सेवाबाट पश्चिम नेपालका बिरामीले सहज र गुणस्तरीय उपचार न्यून शुल्कमा पाउनेछन्।
  • विशेषज्ञ चिकित्सकले स्ट्रोक, नसा तथा हड्डीसम्बन्धी रोगको आधुनिक उपचार अब स्थानीयस्तरमै सम्भव हुने बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज, : नेपालगञ्जको सञ्जीवनी अस्पतालले पश्चिम नेपालका बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न थप चारवटा विशिष्टीकृत सेवा विस्तार गरेको छ । अस्पतालका प्रबन्ध सञ्चालक सन्तोष खनालका अनुसार बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो ।

थपिएका सेवामा अत्याधुनिक तरिकाले पेट तथा कलेजोको उपचार, १२ शय्याको ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’ र खोप सेवा रहेका छन् । उनले हड्डीको स्वास्थ्य जाँच गर्ने आधुनिक प्रविधि ‘डेक्सा स्क्यान’ सेवा पनि सुरु गरिएको जानकारी दिए ।

सो अवसरमा अस्पतालका बोर्ड अफ डाइरेक्टर डा. एम किदवाईले नेपाल र भारतका ठुला अस्पतालमा समेत विरलै उपलब्ध हुने छुट्टै ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’ सञ्जीवनीले सुरु गरेको दाबी गरे । हाल सञ्चालनमा ल्याइएका सेवाबाट यस क्षेत्रका धेरै बिरामीले न्यून शुल्कमा लाभ उठाउन सक्ने उनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले ४० वर्ष उमेर पार गरेका सबैलाई आफ्नो हड्डीको स्वास्थ्यप्रति सचेत रहन अनुरोध गर्दै आवश्यकता परेमा डेक्सा स्क्यान सेवा लिन सुझाव दिए । उनले केही समयका लागि यो सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइएको पनि बताए ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. गौरव श्रेष्ठले अब यस क्षेत्रका पेट तथा आन्द्राबाट रगत बग्ने, दीर्घकालीन झाडापखाला र बारम्बार वान्ता हुने जस्ता समस्याको विशिष्टीकृत उपचार अस्पतालबाटै हुने जानकारी दिए ।

वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सुरु गरिएको सेवाबाट स्ट्रोक, पक्षघात, स्पाइनल इन्जुरी, नसा सम्बन्धी समस्या, हड्डी भाँचिने र जोर्नी दुखाइबाट पीडित बिरामीको विशेष उपचार गरिने बताए ।

सेवा विस्तार कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख कुमार अधिकारी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका प्रशासकीय प्रमुख रामबहादुर हमाल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया