थाल्सेमियाँका बारेमा सचेतनामुलक अन्तरक्रिया

रुद्र सुवेदी / नेपालगञ्ज  :  नेपालगञ्जमा सञ्चालनमा रहेको कान्ति आरोग्य अस्पतालले नेपालगञ्ज उपमहानगरसंगको सहकार्यमा एकदिने थाल्सेमिया बारे जनचेतनामुलक अन्तरक्रिया गरेको छ ।

अस्पतालका सञ्चालक तथा बरिष्ठ बालरोग विषेशज्ञ प्रा.डा. रोमा बोराले थाल्सेमिया रगतमा हुने एक प्रकारको रक्तअल्पता भएको र यो रोग वंशाणुगत तरिकाले आमाबुवाबाट बालबालिकामा सरेर आउने भएकोले यसको बारेमा समुदायमा सचेतना फैलाउन आवश्यक रहेको बताईन ।

डा. बोराले थाल्सेमियाको उपचार भन्दा पनि विवाह गर्न अगाडि नै बर र बुधको रगतको ईलेक्ट्रोफोरसिस गरी सिकलसेल वा थाल्सेमिया भए नभएको यकिन गरेर मात्र विवाह गरेमा यसबाट बच्न सकिने जानकारी दिईन ।

उनले थाल्सेमियाँबाट जोगिने अर्को उपाए भनेको बोनम्यारो प्रत्यारोपणबाट मात्र संभव भए पनि यो अत्यन्तै महंगो र यसको सफलताको दर पनि अत्यन्तै कम रहेकोले जनचेतनामुलक गतिविधि र बैबाहिक अवस्था पूर्वको रगत परिक्षण नै उत्तम हुने कुरामा जोड दिईन ।

पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको र यसैगरी थारु समुदायका बालबालिकामा थालसेमिया पनि अधिक रहेको पाईएको छ । ‘जसरी पश्चिम तराईका थारु समुदायमा सिकलसेल एनिमियाँ वंशाणुगत रुपमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ त्यसरी नै अन्य समुदायमा भन्दा थारु समुदायका बालबालिकामा ७० प्रतिशत थालेसिमियाका बिरामी भेटिएको छ’– डा. बोराले भनिन ।

सिकलसेल थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेपनि थाल्सेमिया भने सबै जाती र समुदायका बालबालिकामा भएको भेटिएको छ । मधेशी, मुस्लिम, शिख, थारु, ठकुरी, क्षेत्रीलगायतको जात तथा समुदायका बालबालिकामा थाल्सेमिया भएको पाईएको डा. बोराको भनाई छ ।

डा बोराले थाल्सेमिया पनि सिकलसेल जस्तै एक प्रकारको रक्तअल्पता भएको जानकारी दिदै यसको उपचार बोनम्यारो प्रत्यारोपणबाट मात्रै संभव भए पनि यो खर्चिलोको साथै प्रभावकारी र सहज नभएको कारण गर्भावस्थामा नै यसको जाँच गराई थाल्सेमिया भएका बच्चाहरु नजन्माउन सुझाव दिईन ।

उनले विवाह पूर्व रगत जाँच गराई रोगी–रोगी बिच विवाह गर्न नहुने, एकजना रोगी अर्को बाहकका बिचमा विवाह गर्न नहुने रोगबाहक र निरोगी वा रागी र निरोगी बिच विवाह गर्न सकिने जानकारी दिईन । उनले विवाह गर्दा बर र बधु मध्ये एकजना अनिवार्य निरोगी हुनु पर्ने बताईन ।

उनले थाल्सेमियाबाट ग्रसित बच्चालाई पटकपटक रगत चढाउनु पर्ने तथा नियमित चिकित्सकको निगरानीमा राख्नु पर्ने जानकारी दिईन । उनले थाल्सेमिया ६ महिनाको उमेरदेखि देखापर्ने र यसले बालबालिकाको बृद्धिविकासमा समेत असर गर्ने, जसका कारण विरामी बच्चाको बौद्धिक क्षमतामा ह्रास आउने, पटक–पटक रगत चढाउदा भित्र अंगहरुमा मुटु, कलेजो, फियोलगायतमा आईरनको मात्रा बढेर ईन्टरनल मल्टि अर्गन फेलिएर हुने समस्या आउने गरेको बताईन ।

उनले भनिन–‘ सिकलसेल एडल्ट भएपछि मात्र देखापर्छ तर, थाल्सेमियाँ जन्मेको ६ महिनादेखि नै देखापर्ने हुन्छ । स्वस्थ मानिसको रगतको आयु १ सय २० दिनको हुने भए पनि सिकलसेल र थाल्सेमियाका विरामीको रगतको आयु २०–३० दिनको हुने भएकोले थाल्सेमियाका विरामीलाई महिनादिन भित्रैमा पटक–पटक रगत चढाउनु पर्ने हुन्छ ।’

थाल्सेमिया भए नभएको रगत परिक्षण गर्दा एक व्यक्तिको करिव ८ हजारदेखि १५ हजारसम्म पर्ने भएपनि सिकलसेलका विरामीलाई राज्यले १ लाखसम्मको निशुल्क उपचार सुविधा दिएपनि थाल्सेमियाको लागि कुनै सम्बोधन गर्न सकेको छैन । पछिल्लो केही वर्षयता स्थानीय तथा प्रदेश सरकारले थाल्सेमियाका विरामीलाई निशुल्क रगत तथा केही औषधि उपलब्ध गराउन थालेको छ । त्यो प्रयाप्त नहुने उनले बताईन ।

थालेसिमिया रोगका बिरामी नेपालमा हाल ६ सयको संख्यामा रहेको आशंका रहेको बताउदै डा बोराले बाँके, बर्दिया, दाङ, सुर्खेत र कैलालीका आफुकहाँ सम्पर्कमा रहेका बिरामीको संख्या मात्रै ६० को हारहारीमा रहेको बताईन ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले थाल्सेमियाको बारेमा जनचेतनामुलक सन्देश फैलाउन कान्ति आरोग्य अस्पतालसंग सहकार्य गर्दै आएको बताए । उनले अस्पतालसंगको सहकार्यमा यस रोगको बारेमा समुदायलाई सचेत बनाउन पहल गरिने गरी व्यवस्था मिलाईएको जानकारी दिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया