नेपालगञ्ज : उच्चरक्तचाप अर्थात ‘हाईप्रेसर’को समस्या औशतरुपमा हुने गरेको पाईन्छ । सामान्यतया ‘हाईप्रेसर’ खानपान र जीवनशैलीका कारण आईलाग्ने समस्या हो । ‘हाईप्रेसर’ अर्थात उच्चरक्तचापको समस्या यदि छ भने पहिले उच्चरक्तचापको कारण के हो ? त्यो पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्चरक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।
स्वस्थ जीवनशैली कसरी अपनाउने ?
– यदि तपाँई धूमपान गर्नुहुन्छ भने धुम्रपान पूर्णरुपले बन्द गरौ । ‘हाईप्रेसर’का विरामीका लागि धुम्रपानले समस्या थप्दै जान्छ ।
–यदि तपाँईमा मोटोपनाको समस्या छ भने तौल घटाउने खालको कार्य गर्नपर्ने छ ।
–यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्ने गर्नुहोस ।
–यदि तपाईँ मदिरा सेवनको लत छ वा कहिले काहीमात्र सेवन गर्नुहुन्छ भने ‘हाईप्रेसर’का विरामीले मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
–यदि तपाईँले चर्को नुन, पिरो अमिलो बढी भएको खानेकुरा खानु हुँदैन । नुन सकेसम्म कम खादा राम्रो हुन्छ ।
उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।
अन्य उपायहरु पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(k+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।
ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।
प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।
माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।
रक्तचापको नियन्त्रणले असामयिक मृत्युबाट बचाउँछ : उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ ।
जुनसुकै बेला रक्तचाप १४०/९० हुनुपर्छ । रक्तचाप १२०/८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ ।
त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ ।
अवस्था जटिल भएमा स्वास्थ्य जाँच गराउने तथा विषेशज्ञ चिकित्सकको सल्लाहलाई अपनाउन आवश्यक हुन्छ ।
हेल्थइरा । २०८०, ९ फाल्गुन बुधबार