नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका करिव ४२ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँने तयारी गरिएको छ ।उन्मुलनको भईसकेको दादुरा रुवेला खोपमा भएको प्रकृयागत त्रुटीका कारण गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगञ्जमा दादुराको महामारी फैलिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आगामी फाल्गुन १३ देखि १९ गतेसम्म उपमहानगरका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष मुनीका ४२ हजार २ सय ७० बालबालिकालाई खोप लगाउन थालिएको उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भने–‘ गत वर्ष एकजनाको ज्यान जाने गरी फैलिएको महामारीमा २ सय १९ जनामा दादुरा देखिएपछि ४७ हजार बढीलाई नै खोप लगाईएको थियो । यसवर्ष पनि करिव ४२ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँने तयारी गरिएको छ । प्रत्येक वडाका कम्तीमा तीन वटा सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउँदैछौं । दादुरा खोप लगाउन प्रत्येक घरमा हामीले निमन्त्रणा कार्ड पनि पठाउँदैछौं ।’
खोप लगाउनको लागि स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, विद्यालयका शिक्षाक तथा खोपकार्यकर्तालाई तालिम दिइएको छ । चन्दले नेपालगञ्ज उपमहानगरपालिकामा ८० प्रतिशत खोप कभरेज भएपनि वडागत रुपमा एकरुपता नरहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले दादुरा–रुबेला खोप अभियानलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जिल्लामा दादुरा–रुबेला विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र हातेमालो आवश्यक रहेको बताए । पालिकास्तरीय वैठकमा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यलगायत उपस्थित थिए ।
नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइएकोमा केही जिल्लाहरुमा महामारीकै रुपमा दादुरा देखिएपछि सन् २०२६ लाई नयाँ लक्ष्य तोकिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोपै लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन् ।
नेपालगञ्जको पुरानो तथा घनावस्तीमा खोपको महत्व बुझेर पनि खोपप्रति केही जनप्रतिनिधि समेतको चासो नहुँदा खोप कार्यक्रम प्रभावित बन्ने गरेको छ । फोटोस्केच : स्वाभिमान नेपालबाट
हेल्थइरा । २०८०, १० फाल्गुन बिहीबार