नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज साउन १ गतेदेखि उपचारमा आउने बिरामीको सुबिधाको लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको छ ।
मेडिकल कलेजसहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने सहमति भए अनुसार सेवा सञ्चालनमा ल्याईएको हो । स्वास्थ्य बीमा कार्यक्रम २ वटा आँखा अस्पतालसहित १२ वटा स्वास्थ्य संस्थामा सञ्चालनमा आएको हो ।
स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै यी संस्थाहरुले आजबाट स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हुन् । बीमा बोर्डका अनुसार स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अन्य निजी अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।
त्यसैगरी बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही रहेका छन् ।
यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरु मध्य बिर्ताज्योति आईकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले स्वास्थ्य बीमा लागू भएपछि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा हुने बीमाका बिरामीहरुको भिडभाड अब कम हुने र बिरामीहरुले सहजरुपमा स्वास्थ्य विमा सुविधा प्राइभेट अस्पतालबाट पाउने बताए ।
हेल्थइरा । २०८१, १ श्रावण मंगलवार