नेपालगञ्ज : देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरी यता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
जसमध्ये जुलाईका २९ दिनमा ५ सय ७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । बाँकेमा भने आर्थिक वर्ष २०८०–०८१ मा ७६ जना डेंङ्गी संक्रमित भएका छन ।
बाँकेका आठवटै पालिकाबाट लक्षण चिन्ह देखिएको संक्रमित रिर्पोटिङ्ग भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका डेंङ्गी रोग फोकलपर्शन दुर्गा गौतमले जानकारी दिईन । उनले दिएको जानकारी अनुसार यी मध्ये १७ जना मात्र उपचारको लागि अस्पताल भर्ना भएका थिए ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६ सय ६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २ सय ४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
झापामा १ सय ३०, चितवनमा १ सय ५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ ।
यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।
हेल्थइरा । २०८१, २४ श्रावण बिहीबार